३ सय ८३ वर्ष पुरानो कात्तिक नाचको व्यवस्थापन गर्न बजेट अभाव

कार्तिक ३०, २०८१ | काठमाडौं

ललितपुरको पाटन दरबार क्षेत्रको डबलीमा ३ सय ८३ वर्ष पुरानो कात्तिक नाचले अहिले पनि निरन्तरता पाइरहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरे देखि यो नाच प्रत्येक वर्षको कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण होस भन्दै कात्तिक नाच सुरु गरिएको आम जनविश्वास छ । सो नाच भगवान विष्णुका १७ वटा कथासँग जोडिएको मान्यता छ । कात्तिक ३० गते सम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर कथा अनुुसार नाच देखाइने गरिन्छ । विगतमा २७ दिन प्रदर्शन हुँदै आएको भएपनि कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा एवं भाषाको समस्याका कारण कातिक नाच सञ्चालन गर्न सास्ती भईरहेको यस सँग सम्बन्धीत निकायको गुनासो छ ।

देश र जनतामा कुनै पनि प्रकारको बाधा नहोस र शान्ती सु व्यवस्था कायम रहोस भन्ने भावनासहित सबैलाई एउटै सुत्रमा बाँधी मनोरञ्जनको साथै धार्मिक, नैतिक, सामाजिक र राजनैतिक ज्ञान दिने उदेश्यले नेपाल सम्बत् ७ सय ६१ अर्थात विक्रम संवत १६९७ मा लतिलतपुरका राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको नाच हो कात्तिक नाच । ऐतिहासिक एवं साँस्कृतिक मूूल्य र मान्यता मात्र होइन, शास्त्रीय, तान्त्रीक र लोक पक्षको समिश्रणले गर्दा कात्तिक नाचको महत्व निकै फराकिलो मानिन्छ । इतिहासकारहरुका अनुसार कात्तिक नाचको सर्जक, श्रष्टा एवं प्रवर्तक राजा सिद्धिनरसिंह मल्लकै शिक्षा गुरु पण्डित नाट्यचार्य हरिवंश उपाध्याय हुन् । कात्तिक नाचमा उनको शास्त्रीय पक्षमा देन छ भने अर्का गुरु विश्वनाथ उपाध्यायको तन्त्रीय पक्षमा देन छ ।

सुरुमा कात्तिक नाच ५ दिनसम्म प्रस्तुत गरिएको थियो भने नेपाल सम्वत् ७ सय ८७ अर्थात विक्रम संवत १७२३ मा ७ दिनसम्म सञ्चालन गरिएको पाइन्छ । पछि विक्रम संवत १८०४ मा पौराणिक आख्यान तथा लोक र नीतिगत कथामा आधारित भई १५ दिनको नाटक थप गरिएको इतिहासकारहरुले उल्लेख गरेका छन् । विभिन्न कालखण्डमा उतारचढाव झेल्दै आएको कात्तिक नाच पछिल्ला दशकहरुमा भने १० दिनसम्म सन्चालन हुँदै आईरहेको छ ।

यस वर्ष कातिक २१ गतेबाट सुरु भएको नाच कातिक ३० गते सम्म विभिन्न विधामा रहेको प्रस्तुत भइरहेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ । नाचलाई १० दिनमा सीमित गराउनुको कारणबारे कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार भन्छन्, ‘यो नाचको पुर्नस्वरुप भनेको २७ दिन हो । सो अवधीसम्म सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग कलाकार लगायत आधारभूत वस्तुहरुको सहयोग नभएकाले २७ दिनसम्म सञ्चालन गर्न सकिएको छैन् । ’

भगवान विष्णुको विभिन्न १७ वटा कथामा आधारित कात्तिक नाचमा चार दशकभन्दा लामो समयदेखि प्रस्तुती दिँदै आएका ललितपुर मंगलबजारका ५९ वर्षीय उत्तमरत्न शाक्यको आफ्नै अनुभव छ । विधागत रुपमा संवाद गर्दा कठिनाई हुने गरेको बताउँदै शाक्यले भने, ‘अप्ठ्यारो भनेको यसमा सबैसँग संवाद गर्नुपर्ने हुन्छ । रियरर्सलमा गर्दाको संवाद र डबली गर्दा अर्को संवाद होला भन्ने डर लाग्ने गर्छ । ’

उनी जस्तै पाटनको डबलीमा नाच्दै आईरहेका २९ वर्षीय कलाकार दिपेश चित्रकार फरक अनुभव सुनाउँछन् । आफूले बालकुमारी, दैत्यको चन्द, प्रचण्ड भएर, शिजोर, विष्णुजोर, जय विजय भएर ११ वर्षदेखि नाच्दै आएको उनको भनाइ छ । ‘मैले बालकुमारीको भूमिकामा नाच्दा शरीरमा दैविक शक्तिको महसुस गरेको छु । ’ उनले भने, ‘तान्त्रिक पक्षको नाच भएकाले बालकुमारीको भूमिकामा नाच्दा पहिरन लगाउँदा र डबलीमा पुग्दाको अनुभव फरक हुने गर्छ । ’

अहिले १० दिनसम्म कात्तिक नाच प्रदर्शन गर्न ८ वर्ष देखि ७० वर्ष उमेरका झन्डै ६० जना कलाकार आवश्यक पर्छ । त्यसबाहेक वाद्यवाधक १२ जना, गायक १०, झयाली बजाउने १० जना, चिराग बाल्ने ८ जना र सहयोगी गर्ने गरी १ सय २० जनाको टिम संलग्न हुनुपर्दछ । जानकारहरुका अनुसार कात्तिक नाचको तयारीका लागि प्रशिक्षण दिन कम्तिमा ३ महिना लाग्छ ।

कात्तिक नाचलाई निरन्तरता दिन नयाँ पुस्तामा आकर्षण अझै रहेपनि भाषाको समस्या हुने गरेका छन् । नेवारी भाषामा पकड भएको कलाकारको अभाव भएको समितिका अध्यक्ष चित्रकारले बताए । उनले भने, ‘अहिलेको युवा पुस्ता कात्तिक नाचलाई निरन्तरता दिन चाहे पनि उनीहरुमा नेवारी भाषाको अभावका कारण पोख्त कलाकार छनोट गर्न समस्या भईरेहेको छ । कात्तिक नाचकोलागि आवश्यक पर्ने कलाकार भएपनि नेवारी भाषा जान्ने कलाकार खोज्न निकै कठिनाई भएको छ । ’

वर्षमा एकपटक नाच देखाउन झण्डै १६ लाख रुपैयाँ खर्च हुने गरेको छ । फरक फरक विधामा १० दिनसम्म चलाइने नाचमा ठूलो संख्यामा कलाकारको आवश्यकता, आर्थिक भार वहन गर्नुपर्ने भएकाले यसको निरन्तरताका लागि सहयोगको अपेक्षा गरिएको छ ।   


प्रतिक्रिया