नेपालमा मानिस हराउने प्रवृत्ति बढ्दै, पारिवारिक वेमेल मुख्य कारण
मंसिर १, २०८१ | काठमाडौं
नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्दा नेपालमा पछिल्ला १० वर्षमा हराउने व्यक्तिको सङ्ख्या बढ्दै गएको छ । उजुरीका आधारमा सयौं व्यक्ति फेला परेपनि झन्डै ६० हजार व्यक्ति अझै पनि वेपत्ताको सूचिमा छन् । हराएका व्यक्तिको खोजीका लागि आफ्नो तर्फबाट पहल भइरहेको प्रहरीको भनाई छ । पारिवारिक वेमेल लगायत कारण व्यक्ति हराउने प्रवृत्ति देखिएको छ । जसलाई सामाजिक समस्या र मानवअधिकारको दृष्टिले गम्भीर रुपमा लिनुपर्ने सम्वद्ध अधिकारीहरुले बताएका छन् ।
विगत १० वर्षमा ५९ हजार ७ सय ५ जना नेपालीहरु हराएको सरकारी तथ्याङ्क छ । सो अवधिमा १ लाख १ हजार ५ सय २० जना नेपाली हराएकोे प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा गरिएको खोजतलास पछि ४१ हजार ८ सय ९५ जना मानिसहरु फेला परिसकेको र उनीहरुलाई परिवार तथा आफ्न्तजनकोे जिम्मा लगाईसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । तर १० वर्षमा हराएका झण्डै ६० हजार मानिसहरुको अवस्था भने अज्ञात छ । उनीहरुको बारेमा हालसम्म कुनै आधिकारिक तथ्य फेला नपरेको प्रहरीको भनाइ छ ।
आर्थिक वर्ष २०७०÷२०७१ देखि आर्थिक वर्ष २०८१÷०८२ सम्म आईपुग्दा मुलुकभरबाट हराएका मानिसका बारेमा प्रहरी प्रधान कार्यालयले तयार पारेको प्रतिवेदनमा ५९ हजार ७ सय ५ जनाको अवस्था अझैपनि अज्ञात नै रहेको उल्लेख गरिएको छ । त्यसबारे जानकारी दिँदै केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले भने हराएका मानिसको खोजीका लागि प्रहरीले सबै युनिटलाई खबर गरेको र उनीहरुको हुलिया उपलब्ध गराएर प्रहरीले खोजीलाई निरन्तरता दिइएको छ ।
व्यक्ति हराएको घटनासँग विभिन्न पक्ष जोडिएको छ । कोही गाउँबाट देशभित्रका सहरमा आफन्तलाई खबर नै नगरी बस्ने गरेको र कतिपय भने विदेश पलायन भएर हराएको तथ्यहरु भेटिएको प्रहरीको भनाई छ । बिगत १० वर्षमा हराएका व्यक्तिमध्ये ४७ हजार ७ सय १० जना महिला, २० हजार ५ सय २७ जना पुरुष छन् । १० वर्षमा ३२ हजार ७ सय ११ जना बालबालिका हराएकोमा १५ हजार ३ सय ५३ जनालाई भने प्रहरीले फेला पारेको छ । तथ्याङ्क अनुसार १७ हजार ३ सय ५८ बालबालिका अज्ञात छन् । त्यसैगरी बृद्धबृद्धा ५ सय ७२ जना हराएको प्रहरीमा निवेदन परेको छ । वर्षेनी ठूलो संख्यामा व्यक्ति हराउनु मानवअधिकारको दृष्टिले गम्भीर बिषय भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगका सूचना अधिकारी चन्द्रकान्त चापागाईंले बताए ।
गरिबी, अभाव र अवसरको खोजीका साथै मानिस हराउनुमा पारिवारीक सम्बन्ध र वातावरण कारक भएको बताइन्छ । कतिपय सन्दर्भमा वृद्धवृद्धाहरू आफन्तको अपहेलना सहन नसकेर खबरै नगरी वृद्धाश्रममा बस्ने गरेकोसमेत पाइन्छ । बालबालिकाको हकमा पारिवारिक विखण्डनले गर्दा घर छाडेर हिड्ने प्रवृत्ति देखिन्छ ।
किशोरकिशोरी आफूखुसी विवाह गरेर भाग्ने, आफ्ना ठाउँ छाडेर देशभित्रैको अन्य क्षेत्र तथा छिमेकी मुलुक भारतमा गएर बस्ने गरेको समेत पाइएको छ । मानिस हराइरहँदा परिवारका साथै समाजमा पनि ठूलो असर पर्ने समाजशास्त्रीहरुले बताएका छन् ।
त्यस्तै समाजशास्त्री शोभा ढुङ्गानाका अनुसार हरेक वर्ष मानिस हराएको तथ्याङ्क सार्वजनीक भएतापनि खोजी कार्यमा सरकारले तदारुकता नदेखाएको देखिन्छ् । नेपालमा विनाशकारी भूकम्प,कोभिड महामारी र अन्य ठूला विपत्तका घटनापछि मानिसहरु बढि हराउने गरेका छन् । त्यसैले उनीहरुको खोजीमा प्रहरी र आफन्तको संयुक्त प्रयास आवश्यक भएको विज्ञहरुले बताएका छन् ।