पोखरा डायरी

रेडियो कान्तिपुर संवाददाता

असार १५, २०७२

लालप्रसाद शर्मा

असार १५, पोखरा ।

 

  • ठेकेदारको लापरवाहीले कास्कीको माझठाना र भाचोक जोड्ने घुम्लेबजारस्थित मादी नदीमाथिको पुल निर्माण अलपत्र परेको छ । पुल निर्माणको ठेक्का पाएको काठमाडौको शंकरमाली जेभीले अहिलेसम्म १० प्रतिशत् जतिमात्रै काम सम्पन्न गरेको छ । २०६९ असारमा भएको संझौता अनुसार गत पुसभित्र पुल निर्माणको काम सक्नुपथ्र्यो । ३ स्पानसहितको ७० मिटर लामो पुल निर्माणकालागि ५ करोड १० लाख रुपैयाँमा ठेक्का परेको थियो । ठेकेदारको लापारवाहीले पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।

 

  • भूकम्पपछि बालबालिका तथा किशोरीहरु बेचविखनमा पर्ने समस्या बढेकोले सबै सचेत रहनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बालबालिका तथा किशोरीहरुको ओसारपसार, बेचविखन विरुद्धमा कास्कीमा गठन भएको निगरानी समूहले अवस्था निकै जोखिमयुक्त रहेकाले सबैले मिलेर यसको रोकथाम गर्नुपर्ने जनाएको छ । समूहका संयोजक डा राजेन्द्र गौतमले भूकम्प प्रभावित क्षेत्रमा सबैको ध्यान गएपछि कम प्रभावित जिल्लाहरुमा दलाल सक्रिय हुन थालेको बताउनुभयो । गौतमका अनुसार बाग्लुंग, म्याग्दी, पर्वत लगायत दलालहरु जिल्लामा दलालहरु सक्रिय भएको पाईएको छ । हालैमात्र सिन्धुपाल्चोकबाट ल्याइएका एकैघरका तीन बालबालिकालाई पोखराको एक होटलबाट उद्धार गरिएको थियो ।

 

  • पोखराको छोरेपाटनका युवा मोहनराज बरालको पहलमा सामाजिक सञ्जाल फेसबुकको माध्ययमबाट २० लाख रुपैयाँ बराबरको सहयोग जुटाएर भूकम्प पीडितलाई वितरण गरिएको छ । सहयोग जुट्ने क्रम अझै जारी छ । उनको यस अभियानमा देश र विदेशबाट ५० बढी सहयोगी सहभागी भएका छन् । सहयोग रकमबाट विभिन्न जिल्लाका बिद्यालय र विपन्न परिवारलाई जस्तापाता हस्तान्तरण गरिएको छ । हालसम्म कास्की सिन्धुपाल्चोक, धादिङ, गोरखा लगायत जिल्लामा जस्तापातासहित अन्य राहत सामग्री वितरण गरिएको बरालले बताए ।  

 

  • पोखराका अधिकांश नीजि बिद्यालयका बसहरु प्राविधिक रुपमा कमजोर रहेको भेटिएको छ । मापदण्डविपरीतका यस्ता बसका कारण कुनै पनि बेला दुर्घटना हुने संभावना रहेको प्राविधिकले बताएका छन् । बिभिन्न संस्थाले विद्यालयका बसहरु जाँच गर्दा इन्जिनलगायतका अन्य पाटपुर्जाको अवस्था ठिक नरहेको पाइएको हो । अनुगमनका क्रममा थुप्रै बसहरुको अवस्था राम्रो नरहेको पाइएको इन्जिनियर प्रवेश पौडेलले बताउनुभयो । चालकलाई गाडीको कन्डीशनबारे समेत थाहा नभएको अवस्था पनि भेटिएको उहाँको भनाई छ । 


प्रतिक्रिया