यात्रा परिपक्वतातिरको

आश्विन २८, २०७७ | काठमाडौं

२ दशकको समय भनेको लामो मात्रै हैन, पट्यारलाग्दो पनि हुन्छ कहिलेकाहीं । तर, त्यसबिचमा आइपर्ने रोमाञ्चक आरोह र अत्यासलाग्दो अवरोहले पट्यारलाग्दो समयमा प्राण भर्छ । मानिसको जीवनकै कुरा गर्ने हो भने पनि एक बिस वर्षमा उसले धेरैथोक अनुभव गर्नसक्छ । 

इतिहास साक्षी छ, पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरणको शुरुवात २० वर्षमै गरिसकेका थिए । नेपोलियन बोनापार्टले २६ वर्षको उमेरमा विश्व विजयको अभियान थालिसकेका थिए । विश्वमा नयाँ राजनीतिक दर्शनको जग बसाउने क्रममा कार्ल माक्र्सले ३० वर्षको उमेरमा कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखिसकेका थिए ।

२३ वर्ष प्रवेश गर्दै गर्दा रेडियो कान्तिपुर पनि सूचना र मनोरञ्जन प्रवाहको छुट्टै र गौरवशाली गाथा कोर्ने यात्रामा होमिएको छ । सूचना तपाईंको अधिकार भन्ने मूल मन्त्रलाई आत्मसात गर्ने क्रममा हामीले राजाको प्रत्यक्ष शासन, कार्यपालिकाले चलाएको शासन र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पनि अक्षुण्ण राख्ने प्रयास जारी राखेका छौं । यसबिचमा हामीले तय गरेको यात्रा लोकतान्त्रिक शासन व्यवस्था र प्रेस स्वतन्त्रतासँगै नागरिक अधिकार प्राप्तिको संघर्षको दस्ताबेज हो । यसको दसी हाम्रा प्रिय श्रोताहरु नै हुनुहुन्छ ।

मुलुक संघीय संरचनामा प्रवेश गर्नुअघि नै हामीले काठमाडौं बाहेक ७ वटा रिले स्टेशनबाट विभिन्न भाषामा कार्यक्रमहरु उत्पादन र प्रसारण सुरु गरिसकेका थियौं । यसमा भाषिक, र सांस्कृतिक विविधता थप्दै चार वर्ण छत्तीस जातको साझा फूलबारीको प्रतिनिधित्व गराउने प्रयास आगामी दिनमा पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाइने छ ।

गीत सङ्गीत बजाए बापत स्रष्टालाई रोयल्टी प्रदान गर्ने निजी क्षेत्रको एकमात्र एफ.एम स्टेशन हुनुको गौरव अनुभूतिसँगै स्रष्टा सम्मानमा पनि रेडियो कान्तिपुरको कुनै कसर बाँकी राखेको छैन । हरेक वर्ष रेडियोले एकजना मुर्धन्य सङ्गीत साधकलाई लाईफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्दै आएको छ । त्यस्तै, स्रष्टा सम्मानकै क्रममा मासिक रुपमा नेपाली साँगीतिक क्षेत्रका ज्यूँदा इतिहासलाई पनि हामीले सलाम ज्यूँदो इतिहास मार्फत् सम्मान र श्रद्धा अपर्ण गर्दै आएका छौं ।

पछिल्लो समय डिजिटल संसारमा श्रोताको उपस्थिति बढेसँगै रेडियो कान्तिपुरले पनि आफ्ना कार्यक्रमको प्रसारण ती माध्यबाट पनि गर्न थालेको छ । जता रेडियो त्यतै श्रोता भन्ने जमानाको अन्त्य भइसकेको र अब जता श्रोता त्यतै रेडियो सुरु गर्न ती माध्यमहरु फलदायी भएको हाम्रो बुझाइ छ ।

कोरोना मात्रै हैन जुनसुकै महामारीका बेलामा पनि सही सूचना प्रवाह महत्वपूर्ण हुन्छ । सही सूचना नै महाव्याधिका समयमा नागरिकको एकमात्र भर र ढाडस बन्ने गरेको तथ्यलाई चरितार्थ गर्दै बरु केही समय ढिलो तर सही र तथ्यपरक सूचना र समाचार मात्रै प्रसारण गर्ने गरेका छौं । यसमा श्रोताले हामीलाई दिनु भएको आडभरोसाका लागि हामी सदा सर्वदा कृतज्ञ छौं ।

२ दशक र ३ वर्षको अनुभवले हामीलाई थप परिपक्व र परिस्कृत पार्दै लगेको छ । यो यात्रा श्रोता, शुभेच्छुक, विज्ञापनदाता र अन्य सहयोगीको साथ नरहेको भए बेटुङ्गो र पट्यारलाग्दो हुने थियो । तर, हामीले हरेक वर्ष नयाँ र रोमाञ्चक अनुभव गर्न पाइरह्यौं । आगामी यात्रामा पनि हामी यहाँहरुबाट यस्तै साथको अपेक्षा गर्छौं । 


प्रतिक्रिया