भारतको गोवास्थित नाइट क्लवमा आगलागी हुँदा ४ नेपालीको मृत्यु
मंसिर २२, २०८२ | काठमाडौं
भारतको गोवास्थित एक नाइट क्लवमा भएको आगलागीमा कम्तिमा ४ जना नेपालीको समेत मृत्यु भएको छ । गोवाको रोमियो लाइन भन्ने नाइट क्लवमा गएराति आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो । उनीहरुमध्ये ४ जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मृतक नेपालीको पहिचान भने खुल्न बाँकी छ । आगलागीमा परी क्लवका २० जना कर्मचारी र ५ जना पर्यटकको मृत्यु भएको समाचारमा जनाइएको छ । यसैबीच, भारतका लागि नेपाली राजदूत शंकर शर्माले सामाजिक सञ्जालमा लेख्दै आगलागीमा परेका चार जना नेपालीको परिवारसँग सम्पर्कको प्रयास भइरहेको बताउनुभएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाका मृतकका परिवारलाई २ लाख भारतीय रुपैया राहत दिने घोषणा गर्नुभएको छ । गोवा भारतको सबैभन्दा व्यस्त रहनेमध्येको एक पर्यटन गन्तव्य क्षेत्र हो ।








