रेडियो कान्तिपुरको २३ औँ वार्षिकोत्सव

आश्विन २७, २०७८ | काठमाडौं

समयक्रमको हिसाब गर्ने हो भने २४ वर्ष आफैंमा लामो कालखण्ड हो । रेडियो कान्तिपुर पनि आज त्यही कालखण्ड पार गर्दैछ । श्रोता, शुभेच्छुक र विज्ञापनदाता सहितको मायामा हुर्किएर रेडियो कान्तिपुर २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । 

यो घडीलाई हामी जिम्मेवारीबोधको अर्को खुड्किलोको रुपमा लिन्छौं । किनभने २३ वर्षअघि हामी जति आवाजविहीनहरुको आजान हुने यत्न गर्दै थियौं । समय आज पनि उस्तै छ । व्यवस्था फेरिए, पात्र फेरियो तर, नागरिकको नियति परिवर्तन भएको छैन । र, नागरिकप्रति जवाफदेही र जिम्मेवार रेडियो कान्तिपुरको धर्म र कर्म दुबै परिवर्तन भएको छैन । 

सरसर्ती हेर्दा सात दशकअघि रैतीबाट प्रजा बनेका नेपाली आज नागरिक छन् । तर पनि चिन्ता गर्नुपर्ने पक्ष, लोकतन्त्रमाथि कालो बादल अद्यापि मडारिरहेको छ । खासगरी, शक्ति पृथकीकरणको सिद्धान्तको चिरहरण हुने गरी कार्यपालिका र न्यायपालिकाबीचको अनोन्याश्रित सम्बन्धका बाछिटाले जतिबेला नेपाली समाज तरङ्गित हुन पुगेको छ, त्यतिबेला लाग्ने भनेकै लोकतन्त्रमाथि कालो बादल हो । 

राजनीतिमा संस्कार र इमान हराएका बेला विभिन्न तह र तप्काका नागरिकहरु लोकतन्त्रको भविष्यलाई लिएर फेरि चिन्तित हुनु स्वाभाविक हो । लोकतन्त्रको निरन्तर श्रीवृद्धिका लागि सरोकार राख्नु हरेकको नागरिक–धर्म हो । र, रेडियो कान्तिपुर नागरिकलाई धर्म निर्वाहमा प्रोत्साहन र निरन्तर खबरदारी गर्ने निजी क्षेत्रको अग्रणी रेडियो भएकाले पनि यसबाट बिचलित हुँदैन । तर, पटक–पटक आधारभूत लोकतन्त्रकै चिन्ता गर्नुपर्ने अवस्था आउनु चाहिँ उदेकलाग्दो विषय हो । 

दुर्गुण नभए पनि लोकतान्त्रिक विधि र पद्दतिमा उभिएर शक्तिमा पुग्नेहरुले गरेको दुरुपयोगकै कारण यो व्यवस्थाको अहित भइरहेको छ । ‘लोकतन्त्र मर्दै छ’ भनेर विश्वभर चिन्ता गरिनुको मुख्य कारण यही हो । लोकतन्त्र बरु राजनीतिक दललाई त्यति आवश्यक नहोला तर, नागरिकका लागि यो जीवनधारा हो । र, रेडियो कान्तिपुर सदैव नागरिककै पक्षमा उभिन्छ ।

२४ औँ वर्ष प्रवेश गर्दै गर्दा रेडियो कान्तिपुरले सूचना तपाईंको अधिकार भन्ने नारालाई व्यवहारमै सूचना र मनोरञ्जनको सम्बाहकका रुपमा चरितार्थ गरिसकेको छ । गीत सङ्गीत बजाए बापत स्रष्टालाई रोयल्टी प्रदान गर्ने नीजि क्षेत्रको एकमात्र एफ.एफ स्टेशन हुनुको गर्वसँगै हामी मुलुकको विविधतालाई कार्यक्रम मार्फत् प्रस्तुत गर्ने अभिभारा पनि बोकी रहेका छौँ । आगामी दिनमा पनि यो अभिभारा हामीलाई प्राप्त भइराख्ने अभिलाषासँगै समस्त स्रोतावर्ग, विज्ञापनदाता र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्छौँ । 


प्रतिक्रिया