सल्यान जिल्ला अस्पताल सिल, आकस्मिक बाहेकका सेवा बन्द

 फाइल तस्बिर

असार ११, २०७७ | सल्यान

जिल्ला अस्पताल सल्यान बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । 

अस्पतालका प्रमुख डा. अर्जुन बुढामगरले अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएको बताउनुभयो । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षणका लागि गत शुक्रबार स्वाबको नमूना संकलन गरी पठाएका मध्ये एक जनामा संक्रमण पुष्टि भएपछि अस्पताल नै बन्द गरिएको हो । 

संक्रमितलाई अहिले क्वारेन्टिनमा राखिएको अस्पतालका प्रमुख डा.बुढामगरले जानकारी दिनुभयो ।

‘कोरोना संक्रमण समाजमा फैलन नपाओस भनि आकस्मिक बाहेक सबै सेवा बन्द गर्नु परेको हो’ उहाँले भन्नुभयो, ‘अस्पतालमा भर्ना भएर सामान्य अबस्थामा रहेका बिरामीलाई घर फर्काउदै आएका छौ ।’ 

कोरोनाको संक्रमण फैलन नदिन संक्रमित लगायत उनका परिवार र उनको सम्पर्कमा आएका सबैको पीसीआर विधिबाट स्वाब परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

एक जनामा संक्रमण देखिएपछि अस्पतालका सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर परीक्षणका लागि लागि पठाएको उहाँको भनाई छ । जिल्ला अस्पतालमा दैनिक सय जना बिरामी उपचारकालागि आउने गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अस्पतालबाट सेवाग्राहीमा कोरोना संक्रमण फैलिन नदिनका लागि सिल गर्नु परेको बताउनुभयो । 


प्रतिक्रिया