तिलोत्तमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

जेष्ठ २१, २०८२ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रमबीच नगर प्रमुख रामकृष्ण खांँणले तिलोत्तमालाई पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा गर्नु भएको हो । 

उहाँले नगरभित्रका हरे बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै गरिएको यो घोषणालाई दिगो बनाउने विषयमा गम्भीर हुन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । पालिकाका हरेक क्षेत्रमा सफल बन्ने क्रममा रहेकोले स्वास्थ्यका कुनै पनि विषयमा कमजोरी नहोस् भन्ने हिसाबले हरेक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीसँग समन्वय गरी स्वस्थ पालिका बनाउने लक्ष्यमा पुग्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले हरेक क्षेत्रमा अब्बल तिलोत्तमाले स्वास्थ्यमा केही पछाडि मात्र यो घोषणा गरेकाले अझ प्रभावकारी ढंगले लाग्नुपर्ने बताउनुभयो । छुटेका बालबालिकालाई समेत खोप दिइसकेपछि पालिका पूर्ण खोपयुक्त भएकाले भविष्यमा जन्मने शिशुलाई अनिवार्य खोप लगाउने वातावरण बनाउन चेतना फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिनुभयो । उहाँले आगामी नीति तथा कार्यक्रममा स्वयंसेविकाका लागि कस्ता कार्यक्रम थप गर्न सकिन्छ भन्ने विषयमा पनि आफूहरु केन्द्रित रहेको बताउनुभयो । 

अघिल्ला वर्षमा भन्दा यसवर्ष नागरिकमा खोप सम्बन्धी चेतना वृद्धि भइसकेको भन्दै अहिले खोपको प्रयोग र यो लगाएपछि मृत्युबाट जोगिन सकिन्छ भन्ने जानकारी मानिसलाई दिइरहन जरुरी रहेको उहाँको भनाई छ । 

तिलोत्तमामा रहेका १ लाख ५६ हजार ३ सय जनसंख्या मध्ये १५ महिनासम्मका बालबलिकाको संख्या १ हजार ५ सय ३० रहेको छ । त्यस्तै, १६ देखि २३ महिनासम्मका बालबालिकाको संख्या २ हजार ४ सय १० छ भने २४ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या ५ हजार ७ सय ९४ रहेको छ । यो सबै संख्यालाई खोप लगाएसँगै नगर पूर्ण खोप दिगोपना सुनिश्चित भएको स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो । 


प्रतिक्रिया