बुटवलको कोरोना अस्पताल मेडिकल अफिसरबिहीन

कार्तिक २६, २०७७ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पताल मेडिकल अफिसरबिहीन भएको छ । अस्पतालमा करारमा कार्यरत ९ जना मेडिकल अफिसरले काम गरे बापतको जोखिम भत्ता नपाएको भन्दै मंगलबार अस्पतालमा ज्ञापन पत्र बुझाएका थिए । 

अस्पताल प्रशासनले लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई सो बारे जानकारी गराएको कोरोना विशेष अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताउनुभयो । ‘करारमा नियुक्त गरिएका अफिसरले जोखिम भत्ता नपाएकाले बुधबारदेखि अस्पताल आएका छैनन्, उहाँले भन्नुभयो, ‘अब आइसीयूमा रहेका बिरामीको उपचार र रेखदेख गर्ने कोही पनि छैन ।’ 

बुटवलमा सञ्चालित कोरोना विशेष अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालले निर्माण गरेको अस्पताल भएकाले प्रशासनबाटै बजेट खर्च गरेको थियो । अस्पताल निर्माण, कर्मचारी तलब देखि विभिन्न समयमा खर्च भएको ७ करोंड रुपैयाँ समेत मन्त्रालयबाट नपाएको डा. गौतमले बताउनुभयो । 

पटकपटक जानकारी गराउँदा समेत मन्त्रालयले अस्पताललाई बजेट दिन ढिलाई गरेको अस्पताल प्रशासनको गुनासो छ । मन्त्रालयले बजेट फछ्र्यौटको प्रकृया अघि बढाइसकेको भन्दै २/४ दिनमै वितरण गरिने सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताउनुभयो । 

‘अस्पताललाई कुनै क्षति नहुने गरी बजेट दिने तयारी गरेका छौं, उहाँले भन्नुभयो, ‘अस्पतालले केही दिनसम्म समन्वय गरेर साथ दिन जरुरी छ ।’ मन्त्रालयले नदिने भनी ढिलाई नगरेको भन्दै उहाँले कागजपत्र मिलाउने क्रममा काम भईरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया