गोकुलेश्वर अस्पतालको ओपीडी सेवा बन्द

वैशाख १८, २०७८ | दार्चुला

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित गोकुलेश्वर अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएकाले तत्कालका लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनुभयो ।

 ‘केही स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ,’ उहाँले भन्नुभयो, ‘संक्रमण बढ्न सक्ने सम्भावना रहेकोले एक साताका लागि गोकुलेश्वर अस्पतालमा ओपीडी सेवा बन्द गरिएको हो ।’ शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरुको शनिबार गोकुलेश्वर अस्पतालमा कोरोना परीक्षण गर्दा चार जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको हो । 

शैल्यशिखर नगरपालिकाका स्वास्थ्यकर्मीसँगै एक जना बोर्डिङ स्कूलका शिक्षकमा कोरोना संक्रमण पृष्टि भएको छ । आकस्मिक सेवा भने सञ्चालनमै रहेको प्रमुख विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार शैल्यशिखर नगरपालिकाका तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

शनिबार थप स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अस्पतालको ओपीडी सेवा बन्द गरिएको हो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमण पुष्टि भएका सबै जनामा कुनै लक्षण देखा नपरेको र सेल्फ आइसोलेशनमा बसिरहेका छन् ।’ शैल्यशिखर नगरपालिकाले २० शय्याको आइसोलेशन कक्ष तयार गरेको छ ।


प्रतिक्रिया