तिलोत्तमाका एचआईभी संक्रमितलाई सहयोग सामग्री वितरण

असार ३, २०८१ | सन्जु पौडेल

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका एचआईभी संक्रमितलाई छात्रवृत्ति, शैक्षिक एवं पोषण सामग्री वितरण गरेको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकाले क्याम्पस तहमा अध्यनरत विद्यार्थी ५ जनालाई २० हजारका दरले छात्रवृत्ति, विद्यालय तहका ७ जना विद्यार्थीलाई शैक्षिक सामग्री र अन्य ६० जनालाई खाद्यन्न तथा पोषण सामग्री वितरण गरेको हो । 

कार्यक्रममा बोल्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले छात्रवृत्ति, पोषण सामग्री वितरण गर्नु सन्देशका हिसाबले महत्वपूर्ण भएको बताउनुभयो । आफ्नो कारणले मात्र नभई रगत लिंदा वा अन्य हिसाबले एचआईभी संक्रमण हुने भएकाले समाजले यसलाई दुर्घटनाका रुपमा सहज लिनुपर्ने उहाँको भनाई छ । 

नगरवासीलाई विभेद नगर्ने, समान व्यवहार गर्ने नीति नगरपालिकाको रहेको नगर प्रमुख खाँणले जिकिर गर्नुभयो । संक्रमित मध्ये घरवास नभएकालाई घर बनाउन जग्गा उपलब्ध गराउन पहल गरिने समेत उहाँले आश्वासन दिनुभयो । 

नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले संक्रमति विद्यार्थीलाई रोजगारमूलक तालिम, सीप दिएर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले नगर भित्र १७५ जनामा एचआईभी संक्रमण रहेको भन्दै यसपटक ७२ जनालाई लागि छात्रवृत्ति, शैक्षिक एवं पोषणा सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाले चालू वर्षमा एचआईभी संक्रमितका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको उहाँको भनाई छ । जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले एआरभी औषधि नियमित सेवन गरे रोग निको हुने र अरु जस्तै नियमित काम, रोजगारी गर्न सकिने बताउनुभयो । 


प्रतिक्रिया