तिलोत्तमा पूर्ण खोप दिगोपना सुनिश्चित नगरपालिका घोषणा

असार १३, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा भएको छ । बुधबार पालिका परिसरमा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नु भएको हो । 

राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिना मुनीका सम्पूर्ण बालबालिकालाई सबै खोप लगाएकोले तिलोत्तमालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले नगर प्रमुख खाँणलाई तिलोत्तमा पूर्ण खोप दिगोपना सुनिश्चितताको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख चापागाईंले हरेक क्षेत्र विकसित हुँदै गएकोले स्वास्थ्य क्षेत्रमा पनि भएको यो अभ्यास प्रशंसनीय रहेको बताउनुभयो । 

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएपनि यसको दिगोपनाको चुनौतीहरु रहेको उल्लेख गर्दै उनले स्थानीय तहहरुले यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

कार्यक्रममा नगर प्रमुख खाँणले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र मावनीय विकासको क्षेत्रमा नगरपालिका एक कदम अगाडि रहेको बताउनुभयो । पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय रहेको उहाँको भनाई छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ज्ञान प्रसाद पौडेलले पालिकाको कुल एक लाख ५६ हजार २९८ जनसंख्या मध्ये १५ महिनासम्मका पूर्ण खोप लगाउनुपर्ने २ हजार ३ सय ३८ बालबालिकाले खोप पाएको बताउनुभयो । 

उहाँले ‘खोज र खोप‘ अभियान अन्तर्गत छुट भएका ७ जनालाई स्वास्थ्यकर्मीले घरघरमै पुगेर खोप लगाइएदिएको जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकामा कुल २७ वटा खोप क्लिनिक रहेका छन् भने ६९ जना स्वास्थ्यकर्मी कार्यरत रहेको पौडेलको भनाई छ । 

यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले स्थानीय तहरुह आफ्नै खोप केन्द्र मार्फत खोप अभियान चलाउनु पर्ने बताउनुभयो । जिल्लामा गत वर्ष दादुरा, रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरेजस्तै सबै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि छलफल, अभियान र कार्यक्रम गरिरहेको उहाँको भनाई छ । 


प्रतिक्रिया