हैजाका ५ जना बिरामी थपिए

श्रावण १४, २०८१

काठमाण्डौं, ललितपुर र कैलालीमा गरी थप ५ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदु प्रसाद घिमिरेका अनुसार ललितपुरको ग्वार्को र काठमाण्डौंको टोखामा एक एक जना हैजाका बिरामी भेटिएका हुन् । यस्तै कैलालीमा थप ३ जनामा हैजा पुष्टि भएको छ । यसअघि ललितपुरको गोदावरी नगरपालिका १४ स्थिति एक सुधार केन्द्रका ८ जनामा हैजा पुष्टि भएको थियो ।

बर्षायाममा पानीजन्य रोगको संक्रमण बढ्ने भन्दै उहाँले खानेपानीमा मुख्य ध्यान दिनुपर्ने बताउनुभयो । खानेपानीको पाइप र ढल निकासका लागि जोडिएको पाइप एकै ठाँउबाट लगिएकाले कतिपय स्थानमा पानी दुषित हुने गरेको निर्देशक घिमिरेको भनाई छ । यस विषयमा काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले पनि यस तर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ । काठमाण्डौंमा कतिपय स्थानमा वर्षाको पानी इनारमा जम्मा गरेर प्रयोग गर्दा पनि हैजाको जोखिम बढेको उहाँले बताउनुभयो ।

काठमाण्डौं र ललितपुरमा उपचारका लागि अस्पताल पुगेका बिरामीमाथि अनुसन्धान गर्दा हैजा पुष्टि भएको हो ।

पानीको माध्यमबाट हैजा सर्ने भएकाले खानेपानी स्वस्छ र उमालेर मात्रै प्रयोग गर्न उहाँले सुझाउनुभयो । 


प्रतिक्रिया