भेरी अस्पतालमा ५ महिनादेखि सिटी स्क्यान सेवा ठप्प
पुस २२, २०८१ | नेपालगञ्ज
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको लामो समय भईसक्दा पनि मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । सिटी स्क्यान मेसिन बिग्रिएको ५ महिना भईसक्दा पनि मर्मत नहुँदा सेवाग्राहीले महँगो मूल्य तिरेर निजी अस्पताल धाउन बाध्य छन् ।
सिटी स्क्यान मेसिनको ट्युब बिग्रिएर पाँच महिनादेखि थन्किएको छ । भेरी अस्पतालमा रहेको सिटिस्क्यान मेसिन १३ वर्ष पुरानो हो । विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतमा चोट लागेका बिरामीको उपचारका लागि अहम मानिने सिटी स्क्यान बिग्रिएको पाँच महिना बितेपनि मर्मत सम्भार नगरिँदा सो अस्पतालमा आउने बिरामीलाई समस्या भएको हो ।
बिरामीले पाँचदेखि १० हजार रुपैयाँसम्म तिरेर अस्पताल बाहिर सिटी स्क्यान गराउँदै आएका छन् । अस्पतालमा सिटी स्क्यान नहुँदा सस्तो र सहुलियतमा उपचार गराउन अस्पतालमा पुग्ने गरीब, विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामी बढी समस्यामा परेका छन् ।
पश्चिम नेपालका बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको अस्पतालमा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बिरामी सिटी स्क्यान सेवाका लागि आउने गरेका छन् ।
अस्पतालका डा. राज पाण्डेका अनुसार सिटी स्क्यानका लागि दैनिक १० जना भन्दा बढी बिरामी आउने गरेका छन् । ‘यो अलि महँगो मेसिन हो नयाँ किन्दा पाँच करोड मूल्य पर्छ । पुरानोलाई मर्मत मात्र गर्दा पनि एक करोड खर्च लाग्छ,’ पाण्डेले भन्नुभयो, ‘त्यसैले मेसिनको मर्मत वा नयाँ मेसिन खरिदको प्रक्रिया दुबै अझै पनि सुरु हुन सकेको छैन ।’
स्वास्थ्य मन्त्री, सांसद लगायतलाई समेत सिटी स्क्यान मेसिनको समस्या बारे जानकारी गराए पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।