एक हजार ९ सय ५५ जनामा डेंगी
श्रावण १५, २०८१
मुलुकभर सात महिनाको अवधिमा एक हजार ९ सय ५५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म ७३ वटा जिल्लामा सो संख्यामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सबैभन्दा बढी बागमती प्रदेशमा कुल संक्रमितको ३२ प्रतिशत रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ । त्यसपछि कोशीमा २५, गण्डकीमा १७, लुम्बिनी र सुदूरपश्चिममा समान १० दशमलव ९ प्रतिशत डेंगी संक्रमित पाइएको छ । जिल्लागत रुपमा काठमाण्डौंमा सबैभन्दा धेरै २ सय २६ जनामा सो संक्रमण पाइएको छ ।
यस्तै झापामा एक सय २९, चितवनमा १ सय २ र तनहुँमा ७९ जनामा डेंगी संक्रमण पाइएको छ । डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाईबाट सर्ने भएकाले बिहान ५ देखि बेलुका ७ बजेसम्म सकेसम्म लाखुट्टेको टोकाईबाट बच्न विज्ञले आग्रह गरेका छन् । लामखुट्टेको टोकाईबाट जोगिन व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन पनि उनीहरुले सुझाएका छन् ।