कोरोना व्यवस्थापनमा नेपालले ठोस उपलब्धि हासिल गर्न सक्छ : डा. महेश मास्के

जेष्ठ १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 26 May 2020 | 13 Jestha 2077

कोरोना महामारी नियन्त्रणमा सरकारको प्रयासहरुले विस्तारै नतिजा देखाउन थालेको र अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर जनस्वास्थ्यका क्षेत्रमा उपलब्धि हासिल हुने आशा जनस्वास्थ्य विद् डा. महेश मास्केले देखाउनु भएको छ । लकडाउनको पूर्णपालनाका कारण मुलुकमा संक्रमणको दर धेरै फैलिन नपाएको भन्दै उहाँले नेपालको हकमा अहिलेको अवस्था विशिष्ट भएको उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा आज कुरा गर्दै उहाँले नेपालमा फैलिएको संक्रमणका बारेमा छुट्टै अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । धेरैजना संक्रमणमुक्त भइ घर फर्किसकेको, मत्यु दर पनि अत्यन्त कम रहेको र संक्रमितहरुलाई पनि भेन्टिलेटरसम्म पुर्‍याउनुपर्ने अवस्था नरहेकाले यसबारे त्रास फैलाउने काम बन्द गर्नुपर्ने उहाँको सुझाव थियो । अब विदेशमा रहेकाहरुलाई कसरी नेपाल ल्याउने र उनीहरुको व्यवस्थापनमा सरकारले ध्यान पुर्‍याउनुपर्नेमा डा. मास्केले जोड दिनुभयो ।

लकडाउन लामो समयसम्म जान नसक्ने भएकाले सिंगो मुलुकलाई एउटै क्षेत्रको रुपमा हेर्नेभन्दा पनि क्षेत्रगत हिसाबले जोखिम कम भएका ठाउँहरुबाट विस्तारै यो खुकुलो पारिनुपर्ने उहाँको तर्क छ । विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, स्वाब सङ्कलन गर्नेदेखि परीक्षण गर्नेसम्ममा खटिहएकाहरुको मनोबल उच्च राखेर मात्रै कोरोनाविरुद्धको लडाइँमा उपलब्धि हासिल हुने भएकाले बजेट मार्फत् यी विषय सम्बोधन गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया