सरकारी प्राथमिकता कोरोना नियन्त्रण हुन सकेन : डा. रवीन्द्र पाण्डे

असार १४, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 28 June 2020 | 14 Asar 2077

एकपछि अर्को विवादमा फस्दा सरकारको प्राथमिकता कोरोना नियन्त्रण हुन नसकेको गुनासो जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले गर्नु भएको छ । पार्टीको आन्तरिक कलह, एमसीसी विवाद र भ्रष्टाचारको जवाफमै अलमलिएका कारण कोरोना रोकथाम र नियन्त्रणमा सरकार प्रभावकारी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै डा. पाण्डेले केही महिनाअघि नै सम्पन्न गरिसक्नुपर्ने कार्य अझै नहुनु त्यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो ।

विभिन्न जिल्लाबाट उपत्यका भित्रिनेको संख्या बढिरहेको भन्दै उहाँले यसरी आउनेहरुको परीक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । क्वारेन्टिनमा रहेकाहरुलाई आरडीटी गरेर धमाधम घर पठाउन थालिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सरकारले क्वारेन्टिन निर्माण गर्न नसक्ने अवस्थामा परीक्षणको दायरा बढाउनु नै राम्रो हुने उहाँको तर्क थियो ।

पछिल्लो समय सत्तारुढ दल नेकपाका नेताहरुलाई वितरण गरिएको भाइरस भगाउने कार्डको पनि उहाँले आलोचना गर्नुभयो । वैज्ञानिक पुष्टि नभएका त्यस्ता सामग्रीको प्रयोग नेताले नै गर्दा त्यसको प्रभाव नागरिक तहसम्म पर्ने र व्यापारीको अभिष्ट पूरा हुने डा. पाण्डेले उल्लेख गर्नुभयो । अफवाह फैलाउने काममा नेता र पार्टी नै प्रयोग हुनु दुखद भएको उहाँको टिप्पणी थियो ।


प्रतिक्रिया