प्रधानमन्त्रीकै कार्यशैलीले राजीनामा माग्न नेताहरु बाध्य भए : गेजा शर्मा वाग्ले

असार १७, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 1 July 2020 | 17 Asar 2077

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिनका लागि पार्टीभित्र आवाज चर्को हुनुका पछाडि उहाँको कार्यशैली नै कारक रहेको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लले बताउनु भएको छ । 

सरकार सञ्चालनमा पार्टीका अन्य नेताहरुसँग परामर्श नगर्नु र पार्टीमा पनि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समन्वय अभावले प्रधानमन्त्री ओलीलाई अहिले अप्ठेरो परेको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै विश्लेषक वाग्लेले नेकपाभित्रको आन्तरिक कलह सिद्धान्त भन्दा पनि शक्ति संघर्षमात्रै भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय पक्ष सक्रिय भएको र त्यसमा पार्टीकै नेताहरुको संलग्नता रहेको भनेर अभिव्यक्ति दिनुलाई पनि विश्लेषण गर्न जरुरी रहेको विश्लेषक वाग्लेले बताउनुभयो । सार्वभौमसत्ता सम्पन्न मुलुकका प्रधानमन्त्रीलाई हटाउने खेलमा लाग्ने राजदूत र मुलुकलाई कुटनीतिक रुपमा सचेत गर्न सकिने अवस्था रहँदा रहँदै प्रधानमन्त्री ओलीले सार्वजनिक खपतका लागि त्यस्तो अभिव्यक्ति दिएको उहाँको विश्लेषण थियो ।

सरकारको कामकारबाहीले जनतामा उत्साह जगाउन नसकेका बेला पार्टीभित्रको किचलो व्यवस्थापनमा समेत अप्ठेरो परेपछि प्रधानमन्त्री ओलीलाई दुबै पद छाड्न दवाव बढेको उहाँले बताउनुभयो । 

अहिलेको प्राथमिकता सरकार परिवर्तनभन्दा कोभिड १९ को रोकथाम र नियन्त्रण, छिमेकीसँगको सम्बनध सुधार, सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको व्यवहारिक कार्यान्वयन भए पनि त्यसैमा नेतृत्व चुकेकाले राजनीमा माग्ने परिस्थिति आएको विश्लेषक वाग्लेले बताउनुभयो ।


प्रतिक्रिया