माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान

असार २, २०७६ | दोलखा

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा सफलतापूर्वक पाइप जडान गरिएको  हो ।

तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको छ । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा आज  अर्को पाइप राखिएको आयोजनाले जनाएको छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएपछि सबै अन्यौलता हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । पहिलो युनिटबाट आगामी पुसभित्रमा ७६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको घिसिङको भनाई छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि  तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । भूकम्प लगायतका कारणले प्रभावित आयोजना निर्माणको काम आगामी आर्थिक वर्षभित्र सक्ने निर्देशक घिसिङले बताउनुभयो ।


प्रतिक्रिया