पर्यटकको संख्या भन्दा पनि व्यवसाय बढाउन जोड दिउँ : अर्थमन्त्री

पुस २६, २०७६ | जनकपुर

अर्थमन्त्री डा.युवराज खतिवडाले पर्यटकको संख्या भन्दा पनि व्यवसाय बढाउन जोड दिन व्यवसायीसँग आग्रह गर्नु भएको छ । 

जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना कार्यक्रममा उहाँले धार्मिक पर्यटनको लागि आउने पर्यटकको संख्या भन्दा पनि व्यवसाय बढाउन जोड दिनुभयो । 

सरकारले स्थानीय उद्योगहरुको संरक्षण गर्न विशेष नीति बनाएको उल्लेख गर्दै उहाँले स्थानीय कागज उद्योगलाई संरक्षण गर्न पुस्तकमा कर लगाएको बताउनुभयो । 

भारतीय सामानहरुमा अधिक कर लगाएको कारण सीमावर्ती क्षेत्रमा चोरी पैठारी बढेको भन्ने व्यवसायीको जिज्ञासामा उहाँले जिल्लास्थित सुरक्षा निकायलाई सीमा नाकामा हुने गैरकानूनी काम कारबाहीलाई कडाईका साथ रोक्न निर्देशन दिनुभयो । 

सीमा नाकामा विषादी चेकजाँच प्रयोगशाला नहुँदा व्यवसायीले आर्थिक क्षति भोग्नु परेको भन्दै व्यवसायी नेताले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

व्यवसायीहरुले भन्सार नाकामा भोग्नु परेको कठिनाई, घुमुवा प्रहरीको ज्यादती, योगदानमा आधारित सामाजिक सुरक्षाका चुनौती, कृषि उपकरणको पैठारीमा भन्सार घटाउनु पर्ने लगायतका विषयमा अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका थिए । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले मन्त्री खतिवडालाई व्यवसायीहरुले भोग्नु परेको समस्या लगायत विषय सम्मिलित मागपत्र पनि बुझाएका थिए ।


प्रतिक्रिया