नेपाल र भारतका प्रधानमन्त्रीले स्वीच थिचेर आइसीपीको उद्घाटन गर्ने

फाइल फोटो 

माघ ३, २०७६ | मोरङ

विराटनगर १८ बुधनगरमा भारत सरकारले निर्माण गरिदिएको एकीकृत भन्सार जाँच चौकी आगामी मंगलबार उद्घाटन हुने भएको छ । 

नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट स्वीच थिचेर जाँच चौकीको उद्घाटन गर्ने तयारी गरिएको हो । 

भारत सरकारले जाँच चौकी नेपाल इन्टरमोडेल ट्रान्स्पोर्ट डेभ्लपमेण्ट बोर्ड काठमाडौंलाई हस्तान्तरण गर्ने विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताउनुभयो । 

बोर्डले तत्काल जाँच चौकी सञ्चालनको जिम्मा ट्रान्स नेपाललाई दिने तयारी गरिएको उहाँले बताउनुभयो । बुधनगरमा नेपाल सरकारले अधिग्रहण गरेर उपलब्ध गराएको १ सय २९ विघा जग्गामा भारत सरकारले २ अर्ब ८ करोडको लागतमा जाँच चौकी निर्माण गरेको छ । 

चौकी निर्माणका लागि भारतको दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकन प्रालि अहम्दावादले सन् २०१६ डिसेम्बरमा १ अर्ब ८३ करोड ३२ लाख ८० हजारमा निर्माणको ठेक्का सम्झौता गरी निर्माण कार्य पूरा गरेको हो । 

निर्माण कम्पनीका परियोजना प्रमुख इञ्जिनियर अवधेसकुमार साहले जाँच चौकी हस्तान्तरण तथा उद्घाटनको तयारी भइसकेको बताउनुभयो । जाँच चौकीमा भारतको दिल्लीका मनुलाल एण्ड सन्स प्रालिले ३ करोड २७ लाख भारतीय रुपैयाँमा ठेक्का लिई फर्निचर हालेको छ ।

जाँच चौकीमा पैगोडा शैलीको मुख्य प्रशासनिक भवन, प्रवेशद्वार, सुरक्षा ब्लक, क्याण्टिन, चिलिङ्ग सेण्टर, पशु र कृषि क्वारेण्टाइन चेक पोष्ट, ल्याब ब्लक, वाटर ट्यांक, पार्किङ्ग स्थलको निर्माण, सुरक्षा भवन, गोदाम, सडक लगायतका संरचना निर्माण गरिएको छ । रंगरोगन, गार्डेनिङ्ग, विद्युत, पानी, ढल निकास लगायत सबै काम भइसकेको साहले बताउनुभयो ।

जाँच चौकी सञ्चालन भएपछि विराटनगर भन्सारबाट भारत लगायत तेस्रो मुलुकबाट मालबस्तु आयात निर्यात सहज हुन्छ । भारत र नेपाल दुबैतर्फ भन्सार जाँच चौकी हुँदा तत्काल जाँचपास भएर आयात निर्यात गर्न सहज हुने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहराले बताउनुभयो । 

जाँच चौकीले ल्याव परीक्षणका लागि पनि कलकत्ता पुग्नै पर्ने झण्झटबाट उद्योगी व्यवसायी मुक्त हुने उहाँको भनाई थियो । भारत सरकारले नेपाल र भारत दुबै तर्फ एकीकृत भन्सार जाँच चौकी निर्माण गरेको हो । 

भारततर्फ ६४ हेक्टर क्षेत्रफलमा १ अर्ब ३१ करोड ९८ लाख ४० हजारको लागतमा सन् २०१६ नोभेम्बर १५ मा निर्माण सम्पन्न भएर जाँच चौकी सञ्चालन हुँदै आएको छ । 

चौकी सञ्चालन भएसँगै विद्युतीय कार्गो रेल विराटनगर आउँछ । 

भारत सरकारले भारतको बथनाहादेखि विराटनगर १८ लावाघाटसम्म भारत सकरकारको सहयोगमा रेलमार्ग निर्माण भई गत वर्षको कातिकमा नै परीक्षण समेत भइसकेको छ । अहिले भारतको बथनाहामा विद्युतीय कार्गो रेलबाट आएका मालबस्तु मालबाहक सवारीमा विराटनगर ल्याउन उद्योगी व्यवसायी बाध्य छन् । 

मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जाँच चौकी सञ्चालन भएपछि मिरगञ्ज पुलले भइरहेको समस्यामा पनि केही राहत पुग्ने बताउनुभयो । 


प्रतिक्रिया