नेतृत्व हस्तान्तरणमा ओलीको अस्वीकार

आश्विन २९, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तत्काल नेतृत्व हस्तान्तरण हुन नसक्ने जिकिर गर्दै आफू पदबाट अलग नहुने बताउनुभएको छ । जेन जी आन्दोलनपछि पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नेतृत्व हस्तान्तरणको माग भएपनि ओलीले त्यसलाई अस्वीकार गर्नुभएको हो । ललितपुरमा शुरु भएको केन्द्रिय कमिटी बैठकलाई सम्वोधन गर्दै ओलीले फेसबुकबाट गरिएको माग अनुसार अध्यक्ष छाड्न नसक्ने बताउनुभयो ।

पदाधिकारी तहकै कतिपय नेताले पार्टीको पुर्नगठनका लागि अध्यक्षको जिम्मेवारी छाड्न आग्रह गरिरहेका बेला ओलीको अभिव्यक्ति आएको हो । लोकप्रियतावादको पछाडी लागेर आफूलाई पार्टीबाट हट्न भनिएको उहाँको भनाइ थियो ।

यसैबीच, एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई एकताका लागि आव्हान गर्नुभएको छ । पार्टी विभाजन गरेर अन्यत्र लागेका नेतालाई घर फर्किन उहाँले आग्रह गर्नुभयो ।

एकीकृत समाजवादीप्रति चर्को वैरभाव राख्दै आएका ओलीले पहिलो पटक पार्टीको आधिकारिक बैठकबाट एकताका लागि आव्हान गर्नुभएको हो । अर्को प्रसंगमा ओलीले वर्तमान सरकार असंवैधानिक भएको आरोप फेरि पनि लगाउनुभएको छ । सरकार चुनाव गराउने बाटोमा नरहेको ओलीको आरोप छ ।

बैठकमा अध्यक्ष ओलीले ६ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । यसैबीच एमालेले ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेको छ ।  


प्रतिक्रिया