जेन जी समूह र राजसंस्थासहित राजनीतिक समझदारीका लागि राप्रपाको आव्हान

आश्विन २९, २०८२ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान सन्दर्भमा जेन जी पुस्ता र राजसंस्थासहित नवीन समझदारी गरेर अघि बढ्न आव्हान गरेको छ ।

मुलुक भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको भन्दै राप्रपाले बृहत राष्ट्रिय सहमतिका लागि आग्रह गरेको हो । केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सो आव्हान गर्नुभएको हो ।

राप्रपाले जेनजीका नामबाट भइरहेको चन्दा असुली र जलविद्युत आयोजनामा निःशुल्क शेयर माग जस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैबीच, राप्रपाले वर्तमान संविधान र निर्वाचन प्रणालीबाट हुने निर्वाचन समस्याको दीर्घकालीन समाधान नभएपनि चुनावबाट भने अलग नरहने निर्णय गरेको छ । पार्टीको विचार नीति र आसन्न निर्वाचन लगायतका विषयमा छठपछि देशभर जनसम्वाद कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष लिङदेनले बताउनुभयो । सो पार्टीले आगामी कार्तिक २७ र २८ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय समेत गरेको छ । यसअघि आजको केन्द्रिय कार्यसम्पादन समितिको बैठक महामन्त्री धवलशमशेर राणा र कुन्ती शाहीले भने बहिष्कार गरेका थिए । 


प्रतिक्रिया