नेप्से सामान्य अंकले बढ्यो, १ अर्ब बढीको कारोबार

माघ १४, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज ५ दशमलव ५२ अंकले बढेर १ हजार ३ सय ६ दशमलव १५ बिन्दुमा पुगेको छ । 

नेप्सेमा सुधार देखिएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ४९ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो करीब २४ अंकले उकालो लागेको नेप्सेमा ९१ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । 

नेप्ससेमा आज बैंक, व्यापार, होटल र जलविद्युत बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ५९ दशमलव २८ अंकले बढेको छ । 

यस्तै, निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ४१ दशमलव ३३ र लघुवित कम्पनी समूहको उपसूचक ४२ दशमलव ५८ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ७८ कम्पनीका १४ हजार ५ सय ५५ कारोबारबाट ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ४० करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा आज ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया