नेप्सेमा उल्लेख्य सुधार, २ अर्ब बढीको कारोबार

फाल्गुन २८, २०७६ | काठमाडौं

कारोबार हुने साताको चौंथो दिन आज धितोपत्र बजारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो दिन २ पटक नकारात्मक सर्किट ब्रेक लागेर नियमित समय भन्दा डेढ घण्टा अगावै बन्द भएको बजार आज ५ दशमलव ४७ प्रतिशतले उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक आज ७३ दशमलव ७८ अंकले बढेर एक हजार ४ सय २३ दशमलव ९ बिन्दुमा पुगेको छ । नेप्सेमा आज २ अर्ब २२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा उल्लेख्य सुधार देखिएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा एक अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो ८६ अंकले घटेको नेप्सेमा एक अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार भएका म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ५ सय १० दशमलव ९७ अंकले बढेको छ । 

यस्तै, निर्जीवन बीमाको ४ सय ४५ दशमलव ६५, लघुवित्तको १ सय १७ दशमलव २८, उत्पादनमूलकको १ सय ९ दशमलव ७९ र होटल कम्पनी समूहको उपसूचक ९९ दशमलव ५९ अंकले बढेको छ । 

नेप्सेमा आज कुल १ सय ८० कम्पनीका २३ हजार २ सय ३७ कारोबारबाट ५६ लाख २६ हजार ८ सय १२ कित्ता सेयर किनबेच भए । नेप्सेमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबै भन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया