शुक्रबार खोलिएन् तातोपानी नाका

चैत्र १५, २०७६ | सिन्धुपाल्चोक

सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बन्द गरेको चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खोल्ने निर्णय गरेपनि अझै सञ्चालनमा आएको छैन । चीन सरकारले दिएको मेडिकल कीट लगायत सामग्री सहित हिजो खोल्ने निश्चित गरिएको सीमावर्ती तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने मिति सरेको हो । 

गत बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । नाकामा सुरक्षा स्वास्थ्य अवस्थालाई केन्द्रबिन्दु बनाएर प्रशासन, प्रहरी, भन्सार कार्यालयसँग जनप्रतिनिधिबीच बृहत छलफलपछि मात्रै नाका खुलाइने भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नाकाबाट आउने सम्पूर्ण कुरा र क्रियाकलापलाई संवेदनशील रुपमा लिनुपर्छ, कोरोना संक्रमणलाई ध्यानमा राखेर छलफल सकेपछि नाका खोल्ने समय तोक्दैछौँ ।’ शुक्रबारबाट नाका खुलाउने निर्णय सरकारले गरेपनि चीनबाट अत्यावश्यक सामग्री, कामदार पठाउने विषयमा भने पर्सि मंगलबार मात्र छलफल हुने उहाँले जानकारी दिनुभयो । 

कोरोनाको संक्रमण फैलिन नदिन हाललाई तातोपानी नाकाबाट मेडिकल कीट र फलफूल मात्रै आयात गरिने तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो । तातोपानी नाका खुलेलगत्तै जाँचपासका लागि जाँचपासमा संम्लग्न मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गरिनेछ । उहाँकानुसार नाकाबाट प्रत्येक वस्तु आयात निर्यात हुदा मितेरी पुलको दुबै छेउमामा सामान लिन जाने सवारी चालकको अनिवार्य स्वास्थ्य परिक्षण हुने भएकाले कोरोनाको संक्रमण डर देखिदैन् । 

चीनबाट आएका सामग्रीलाई कीटनाशक स्प्रे छर्केर मात्रै जाँचपास गर्ने, ७२ देखि ७४ घण्टापछि पुन: कीटनाशक स्प्रे छर्केपछि मात्रै सामान पठाइने उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने तातोपानी नाका खुल्ने मिति सरेपनि विभिन्न विषयबारे छलफलपछि सुरक्षित रुपमा सञ्चालन गरिने बताउनुभयो । यस्तै, नेपालका लागि हिँडेका करीब २ सय कन्टेनर रसुवागढी नाकामा रोकिएको दुई महिना भन्दा बढी भईसकेको छ । सोही कारण चिनियाँ पक्षले नेपाललाई नाका खोल्न आग्रह गरिरहेको थियो ।

नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आउने गरेको थियो । सो नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो । 


प्रतिक्रिया