शनिबारबाट १४.२ किलो ग्यास हुने सिलिण्डर बजारमा नपठाईने

चैत्र १५, २०७६ | काठमाडौं

खाना पकाउने एलपी ग्यासको सहज व्यवस्थापन र अनावश्यक सञ्चय रोक्न नेपाल आयल निगमले शनिबारबाट भरी ग्यास भएको सिलिण्डर बजारमा नपठाउने भएको छ । एउटा सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास हुन्छ । 

निगमले यसअघि नै आधा सिलिण्डर अर्थात ७ दशमलव १ किलो ग्यासको सिलिण्डर मात्र बजारमा पठाउन उद्योगीहरुलाई निर्देशन दिईसकेको छ । सबै उपभोक्तालाई ग्यासको पहुँचमा पुर्‍याउन आधा ग्यास सिलिण्डर अर्थात ७ दशमलव १ किलो ग्यास मात्र बिक्री गर्न लागिएको निगमले जनाएको छ । 

शनिबारबाट १४ दशमलव २ किलो ग्यास भएको सिलिण्डर मौज्दात भएका डिलरलाई ती ग्यास नसकेसम्म थप ग्यास उपलब्ध नगराउन उद्योगीलाई निर्देशन दिएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो । 

डिलरहरुले १४ दशमलव २ क्षमताको ग्यासको मौज्दातको विवरण उपभोक्ताले देख्ने गरी सूचना टाँस्न निर्देशन दिएको उहाँले बताउनुभयो । विगत केहीदिन देखि काठमाडौंमा एलपी ग्यासको माग अत्यधिक रहेको भन्दै सबै उपभोक्ताको माग सम्बोधनका लागि हाललाई आधा ग्यास सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 

कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल र भारतमा समेत मुलुकभर लकडाउन गरेका कारण ग्यास आपूर्ति असहज भएकाले सो निर्णय गरिएको निगमले जनाएको छ । निगमले तोकेको मूल्यमा उपभोक्तालाई ७ दशमलव १ किलो ग्यास सहज रुपमा उपलब्ध गराउने व्यवस्था समेत मिलाएको छ । 

सम्बिन्धत समाचार :

आधा सिलिण्डर ग्यासको मूल्य तीन थरी


प्रतिक्रिया