बागलुङका कृषकलाई नयाँ जातको स्याउको बिरुवा वितरण

जेष्ठ ८, २०७७ | पर्वत

बागलुङको ढोरपाटनमा परीक्षणको रुपमा नयाँ जातको स्याउका बिरुवा रोप्न थालिएको छ । स्याउ ब्लकमा समेटिएको ढोरपाटनको माथिल्लो खर्कमा किसानहरुलाई विभिन्न जातका २ सय वटा बिरुवा उपलब्ध गराईएको छ । 

कृषि ज्ञान केन्द्र पर्वतले परीक्षणका लागि गोल्डेन, रोयल डेलिसियस, जोना प्रिन्स, फुजी र डाला जातका स्याउका बिरुवा कृषकलाई वितरण गरेको छ । स्थानीय जातको स्याउ रोप्दै आएका किसानहरुलाई विदेशमा चर्चित रहेका जातका बिरुवा उपलब्ध गराईएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

 ‘केहि वर्ष देखि यहाँ स्याउ खेती हुँदै आएको छ,’ रेग्मीले भन्नुभयो,‘ नयाँ जात परीक्षण गर्न विदेशमा चर्चित जात वितरण गरेका हौँ ।’ केन्द्रका प्रमुख रेग्मीका अनुसार गण्डकी प्रदेश सरकारको हाइटेन्सीटी प्लाण्टिङ कार्यक्रम अन्तर्गत ढोरपाटनमा पहिलो पटक नयाँ जातको स्याउको परीक्षण खेती हुन लागेको हो । ती स्याउका बिरुवा एग्रो मनाङ प्रालिले उपलब्ध गराएको हो । कृषि ज्ञान केन्द्र मार्फत वितरण भएका बिरुवाको मूल्य २ लाख २० हजार रहेको छ ।

रेग्मीका अनुसार यी विरुवा जापान, इटली र अष्ट्ेरलियाबाट ल्याईएको हो । ढोरपाटन स्याउ ब्लक सञ्चालक समितिका संयोजक जुम बहादुर बुढाथोकीले बिरुवा ढुवानी गरेर गाउँ सम्म पुर्‍याएका हुन् । 

ढोरपाटनमा एक सय हेक्टर क्षेत्र समेटेर स्याउ ब्लक सञ्चालन गरिएको छ । ढोरपाटनमा किसानहरुले केहि वर्षदेखि व्यवासयिक रुपमा स्याउ खेती गर्दै आईरहेका छन् । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि २ हजार देखि ३ हजार मिटर उचाईमा स्याउ खेती हुने गरेको छ । परीक्षण सफल भए बागलुङको ढोरपाटनलाई स्याउ जोन बनाउने कृषि ज्ञान केन्द्रको तयारी छ । 


प्रतिक्रिया