कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट सार्वजनिक

असार १, २०७७

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै कर्णाली प्रदेशले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारको अनुमानित आय व्यय विवरण आज सार्वजनिक गरेको छ । 

जसमध्ये पुँजिगत तर्फ १९ अर्ब ६ करोड ९१ लाख र चालु तर्फ ११ अर्ब ६७ करोड ५७ लाख रहेको छ । प्रदेश सरकारले कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने बजेटमार्फत घोषणा गरेको छ । प्रदेशसभाको आजको बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताउनुभयो । 

प्रदेश अस्पतालमा २ सय शैयाको आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आइसीयू) र २० भेन्टिलेटर सहित सघन उपचार कक्ष बनाइने बजेटमा उल्लेख छ । यसका साथै हरेक जिल्ला अस्पतालमा कम्तीमा ५० आइसोलेस बेड, कम्तीमा १० आइसीयू र कम्तीमा ५ भेन्टिलेटर सहितको सघन उपचार कक्ष तयार पारिनेछ ।

कोरोनाको कारण संभावित खाद्य संकट नियन्त्रणको लागि आधारभूत खाद्यान्न खरिद र ढुवानीका लागि ५० करोड विनियोजन गरिएको छ । बजेट कार्यान्वयन मार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेश सरकारको लक्ष्य छ ।


प्रतिक्रिया