सरकारले अनुमति नदिए भेडेटारका व्यवसायीले आफैं व्यवसाय सञ्चालन गर्ने

कोरोना महामारी पछि लकडाउनले सुनसान भेडेटार । तस्वीर: प्रदीप मेन्याङ्बो, रेडियो कान्तिपुर ।  

असार १, २०७७ | सुनसरी

लकडाउन अघि दैनिक सरदर १० हजार आन्तरिक र वाह्य पर्यटकको भिड लाग्ने पुर्वको पर्यटकीय गन्तव्यस्थल भेडेटार लामो समय सुनसान हुदा स्थानीय पर्यटन र होटल व्याबसायीहरु निराश र हतास हुन थालेका छन् ।

सरकारले पछिल्लो समयमा लकडाउन खुकुलो बनाएपनि होटल रेस्टुरा भने सचालन गर्न दिएको छैन । होटल र पर्यटनमा आधारित व्याबसाय भएकाले लकडाउनको असर कोरोना भन्दा घातक हुन थालेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाले बताए । उनले कोरोना महामारी सुरु हुनु भन्दा अगाडि सरकारले २०२० लाई पर्यटन बर्ष घोषणा गरेपछि पर्यटकीय स्थल भेडेटारमा विभिन्न पर्यटन व्याबसायीले अर्वौ रुपैया लगानी गरेको तर कोरोना र लकडाउनले सवै चकनाचुर बनाएको बताए ।

उनले भने, ‘पर्यटकीय स्थलहरुमा सरकारले केही मापदण्ड बनाएर होटल तथा पर्यटन व्याबसाय संचालन गर्न दिनु पथ्र्यो तर त्यसो नगर्दा कतिपयले वैंकबाट लाखौं रुपैया ऋण लिएर संचालन गरेका होटल तथा पर्यटन व्याबसायी निराश भएका छन् ।’ पर्यटकीय स्थल भेडेटार धनकुटा र सुनसरीको सीमामा पर्छ ।

उनले सरकारले होटल रेस्टुरा बाहेक अरु संचालन गर्न दिएकाले निजि लगानीमा संचालित होटल तथा पर्यटन व्याबसाय अव पनि संचालन गर्न अनुमति नदिए आफै होटल संचालन गर्ने तयारी गरेको बताए । चैत ११ गते देखि सूरु भएको लकडाउनले भेडेटारका ६० वटा पर्यटक लक्षित होटल, भेडेटार आसपासका पर्यटकीय स्थलहरु सुनसान हुदा स्थानीय पर्यटन व्याबसायीको आय त गुम्यो नै लगानी पनि डुव्ने अवस्थामा पुगेको अध्यक्ष रुम्दालीले बताए ।

जेठ ३२ गते देखि सरकारले लकडाउन खुकुलो बनाएपनि पर्यटन लक्षित व्याबसायप्रति केही नबोलेकाले सागुरीगढी गाउपालिकासंग वार्ता गरेर होटल तथा पर्यटन व्याबसाय संचालन गर्ने होटल एसोसिएसनको तयारी होटल व्याबसायी महासंघ प्रदेश १ का महासचिव लीलाराज लावतीले बताए ।

होटल एसोसिएसन भेडेटारका निवर्तमान अध्यक्ष समेत रहेका लावतीले भने, ‘जेठ ३२ गतेसम्म पख्र्याैं । तर हामी जस्ता निजि लगानीमा संचालिन होटल र पर्यटन व्याबसायीकालागि कुनै विकल्प ननिकालेले ‘मर्नु भन्दा बहुलाउनु निको’ भनेजस्तै आफै संचालन गर्ने तयारीमा जुटेका छौं ।’ भेडेटारमा लकडाउन हुनुभन्दा तीनसाता अघिमात्र करिव ३ करोड रुपैयाको लगानीमा जिप फ्ल्याइङ सुरु भएको थियो । होटल व्याबसायीहरु धमाधम थपिदै थिए ।

महासचिव लावतीले भने, ‘कि राहत प्याकेज दिनु पर्‍यो कि मापदण्ड तोकेर होटल र पर्यटन व्याबसाय संचालन गर्नु दिनु पर्‍यो । लकडाउनमात्र गरेर सरकारले आफ्नो दायित्व पुरा गरेको ठहरिन्न ।’ सुनसान भेडेटारमा आर्थिक कारोवारलाई चलायनमान कसरी बनाउने भन्ने विषयमा होटल व्याबसायीहरु वीच दैनिक छलफल हुने गरेको छ । उनीहरुले आफु पनि सुरक्षित हुने र कर्मचारीलाई पनि सुरक्षित राख्नेबारे छलफल गरेका छन् ।

होटलमा कार्यरत कर्मचारीहरुको समय समयमा स्वास्थ्य परीक्षण गराउने र अनिवार्य माक्स, पञ्चा, टोपी लगाएर सेवा दिने, होटल प्रवेशद्धारमा अनिवार्य साबुन पानीले हातधुने वा सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गर्ने, एक भन्दा बढी ग्राहक आएमा सामाजिक दुरी कायम गराएर सेवा दिने, कोठा सर्भिस दिदा फरक फरक दिनमा दिने, पाहुनाले कोठा छोडेपछि पुरा सेनिटाइज गरेर मात्र पुन: प्रयोग गर्ने प्रस्ताव राखेका छन् । अध्यक्ष रुम्दालीले यिनै विषयमा स्थानीय सरकारसंग आन्तरिक छलफल र वार्ता भइरहेको बताए । 


प्रतिक्रिया