बजार अभावका कारण राडीपाखी उद्योग संकटमा

राडीपाखी बुन्दै साल्पासिलिछो गाउँपालिका–४, खाटम्माकी स्थानीय महिला । तस्बिर : एलिसा श्रेष्ठ/रेडियो कान्तिपुर । 

असार २५, २०७७ | भोजपुर

बजार अभावका कारण राडीपाखी उद्योग संकटमा पर्न थालेको छ । पछिल्लो समय यो व्यवसाय प्रतिको चासो घट्दै जानु तथा कच्चा पदार्थ, उत्पादित वस्तुको बजारीकरण हुन नसक्दा घरेलु उधोगहरु बन्द हुने अवस्थामा पुगेको हो । उत्पादित सामग्रीले उचित मूल्य नपाएपछि भोजपुुरका राडीपाखी तथा अल्लोका घरेलु उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् । 

भेडाको ऊन झिकी बनाईने राडीपाखी तथा अल्लोबाट तयारी गरिएका सामग्रीको भाउ खस्केपछि व्यवसायीलाई उद्योग चलाउन समस्या भएको हो । कच्चा पदार्थको अभाव तथा उत्पादित वस्तुको बजारीकरण नहुँदा भेडाको ऊन तथा अल्लोबाट बुनिने वस्तुहरुको उत्पादन बन्द हुन थालेका हुन् । गाउँमै ऊनबाट उत्पादित राडी, लुकुनी तथा अल्लोका कपडाले बजार नपाउँदा व्यवसाय प्रति स्थानीयको चासो समेत घट्दै गएको छ ।

भेडाको ऊन तथा अल्लोबाट बुनिने सामानहरु पुरानो तरिकाले बनाईने र बुनिएका वस्तुहरुको बजारीकरणमा आउने समस्यालाई सम्बन्धित निकायले विकसित प्रविधि र बजारको व्यवस्थापन गरे महिलाहरु यस व्यवसायबाट आत्मनिर्भर बन्न सहज हुने साल्पासिलिछो गाउँपालिका–५ दोभानेकी जलवति राई बताउँछिन् । ‘ऊन र गाउँ घरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्रीहरु निमार्ण गर्ने गथ्र्यौं’ उन्ले भनिन्, ‘तर गाउँमा बजार नभएपछि थन्काएर राख्नुपर्ने बाध्यताले यस प्रति चासो घट्दै गएको छ ।’

यस्ता ऊन तथा अल्लोका घरेलु उद्योगहरु बन्द हुने क्रमले स्थानीय भेडापालक तथा अल्लो काड्ने किसानहरुको समेत पेशा धराशयी बन्दै गएको छ । पहिले राडीपाखी बनाउन ऊन लानेको माग धान्न निकै गाहे हुने गरेको टेम्केमैयूम गाउँपालिका–१ तिम्माका भेडापालक सन्तोष कठेतले बताए । उन्ले भने, ‘पहिले बाहिर बाट आउने लत्ता कपडाहरुलाई भन्दा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर मानिसहरु यहि उत्पादित सामानहरु प्रयोग गर्ने गर्थे । तर, हिजोआज ऊन खेर गईरहेको छ । जसका कारण भेडा व्यवसायबाट सोचे अनुरुपको आम्दानी हुन छाडेको छ ।’

उद्योग वाणिज्य संघ भोजपुरका महासचिव नवीन प्रधानका अनुसार स्थानीय उत्पादनलाई प्रवर्धनका लागि गत ५ वर्षदेखि कोशेली घरको स्थापना गरेको छ । प्रधानका अनुसार महासंघले स्थानीय स्तरमा उत्पादित सामग्रीहरुको बजारीकरण गर्न व्यवसायी र उत्पादन कर्ताबीच समन्वय गरी उत्पादित सामग्री बिक्रीका लागि सहजिकरण गर्दै आएको छ ।

बजार अभावमा उत्तरी साल्पासिलिछो गाउँपालिका र पूर्वी अरुण गाउँपालिकाका विभिन्न भेगमा वर्षौदेखि चलाइरहेका राडीपाखी र अल्लोका घरेलु उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । कच्चा पदार्थ प्रशस्त मात्रामा पाईएपनि तयारी गरिएका सामानले बजार भाउ नपाउँदा बन्द गर्नुपर्ने अवस्थामा पुगेको अरुण गाउँपालिका–४, चरम्बीका रानीमाया राईले सुनाईन् ।

‘दुख गरेर राडी बनाएर बजार लग्यो, नबिकेपछि घरै फर्काउनुपर्छ । महिनौं लगाएर बनाएको राडीलाई सस्तोमा खोज्छन्, सस्तोमा दिंदा ज्यालानै उठ्दैन, उनले भनिन्, ‘अब राडीपाखी बुन्ने भेटिँदैनन् । भाउ नै नपाएपछि गाउँमा राडीपाखी बनाउनै छाडिसके ।’

जिल्लाको उत्तरी भेगको भेडापालन हुने स्थानमा भेडाको ऊन र उत्तरी कुलुङ, दोभाने, खाटाम्मा, पूर्वको जरायोटार, चरम्बी, याकु लगायत स्थानमा अल्लोको रेसाबाट विभिन्न राडी, लुकुनी र घुमराडी बनाईन्थ्यो । तर, पछिल्लो समय त्यसको उत्पादन क्रमश: घट्न थालेको छ । उचित मूल्य नपाएपछि व्यवसायीहरुमा निराशा छाएको हो ।

अल्लोको रेसा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रक्रियाबाट सामान तयार गरिन्छ । धेरै श्रम लगाएर तयारी गरिएका ती सामान बजार नजिकमा नहुँदा पनि थप समस्या हुने गरेको साल्पासिलिछो गाउँपालिका–४, खाटम्माकी अल्लो व्यवसायी मालती कुलुङ्गले बताईन् ।

भौगोलिक विकट ग्रामीण भेगका सर्वसाधारणले गाउँ घरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्रीहरु निर्माण गर्ने गर्छन् । तर, गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको छ । बलियो र वर्षौसम्म टिकाउ हुने राडीपाखी र अल्लोका कपडाहरु भन्दा आधुनिक नयाँ फेन्सी सामानमा सर्वसाधरणको रोजाईमा पर्ने भएकाले पनि यस्ता उद्योगहरु ओझेलमा परेको व्यवसायीहरु बताउँछन् ।

घरेलु उद्योगहरु बन्द हुने क्रमले भेडापालक कृषक तथा अल्लो काड्ने किसानहरुको समेत पेशा धराशयी बनेको छ । पेशा संकटमा परेको सुनाउँदै षडानन्द नगरपालिका–९, किमालुङका भेडापालक लाक्पानेरु शेर्पा भन्छन्, ‘पहिले राडीपाखी बनाउन एकजनाले सय किलोसम्म भेडाको ऊन लैजान्थे । आजभोलि फाटफुट एक दुई जना मात्र आउँछन् । त्यो पनि १०/१२ केजी लैजान्छन् । किन्ने कोहि नभएपछि भेडाको ऊन नै झिक्न छोडिसक्यौं ।’

घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगको रुपमा विकास गर्ने योजना रहेको बताएको छ । राडीपाखी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्ने, तालिम दिने योजना बनाईएको समितिका निमित प्रमुख खेम बुढाथोकीले बताउनुभयो । 

उहाँका अनुसार षडानन्द नगरपालिका र अरुण गाउँपालिकाको अल्लो तथा राडीपाखी व्यवसायीलाई तालिम र आवश्यक औजारहरु वितरण गरिने तयारी भईरहेको छ । यसका साथै सदरमुकाम र विभिन्न जिल्लाका बजारहरुमा कोसेली घरको स्थापना गरी यसको बजारीकरण समेत गरेर लैजाने उहाँले सुनाउनुभयो ।


प्रतिक्रिया