बारीमै कुहिए लाखौं मूल्य बराबरको तरकारी

असार २७, २०७७ | भोजपुर

लकडाउनका कारण बजार नपाएपछि भोजपुरमा उत्पादित तरकारी बारीमै कुहिन थालेको छ । ढुवानी गर्ने साधन र हाट बजारहरु बन्द भएपछि व्यावसायिक तरकारी खेती गर्ने किसानहरु समस्यामा परेका छन् ।

हरेक साता तरकारी लिएर भोजपुर हटिया धाउने भोजपुर नगरपालिका–५, बोखिम दाम्सिङकी पशुपती राईलाई लकडाउनका कारण हटिया बन्द भएपछि बारीमा फलेको तरकारी कहाँ बिक्री गर्ने भन्ने चिन्ता छ । उत्पादित तरकारी बिक्री नभएपछि बारीमै कुहिन थालेको छ । तरकारी नबिकेपछि व्यावसायिक कृषिमा लागेका कृषकको घरखर्च कसरी टार्ने भन्ने चिन्ताले सताएको उनी बताउँछिन् ।

उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने माध्यम नहुँदा किसानलाई घरखर्च टार्ने समस्या भएको छ । लकडाउनले बजार बन्द भएपछि काउली, बन्दा, आलु, साग, टमाटर लगायतका तरकारी बारीमै कुहिन थालेको भोजपुर नगरपालिका–१२, टक्सारकी रिता सुवेदीले सुनाइन् । 

उनले भनिन्, ‘लकडाउनले डेढ लाख रुपैयाँ बराबरको बन्दा, काउली, टमाटर खेर गयो । एक रुपैयाँ पनि आम्दानी भएन ।’ तरकारी बेचेर सिजनमा ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी रिताले यो वर्ष लकडाउनका कारण तरकारी बेच्न पाईनन् ।

लकडाउन केहि खुकुलो भएपनि ढुवानी गर्ने साधन नभएपछि दिनहुँजसो ८ किलोमिटर हिँडेर बजार धाउने गरेको भोजपुर नगरपालिका–१२, टक्सारकी कमला आचार्यले बताइन् । उनले भनिन्, ‘सामान्य रुपमा बजार खुला भएकाले यसो अलिअलि भएको टमाटर बेच्ने गर्छु ।’ 

व्यावसायिक रुपमा फैलाएको तरकारी नबिकेपछि लगानी र श्रम खेर गएको आचार्य सुनाउँछिन् । लम्बिएको लकडाउनले तरकारी बारीमै कुहिएपछि किसान निराश छन् । लकडाउनको अवधि यथावत रहे भोकमरी सिर्जना हुने स्थानीय किसान बताउँछन् ।

आम्दानीको मुख्य श्रोत नै तरकारी खेती गर्ने किसानलाई सरकारको लकडाउन काउसो बनेको छ । छिटफुट रूपमा बिक्री भएपनि सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।

लकडाउन केहि खुकुलो बनेपनि किसानले आफूले फलाएको कृषि उपजको राम्रो मूल्य पनि पाएका छैनन् । उपभोक्ताको चाप कम भएकाले यतिबेला किसानले प्रतिकेजी ८० देखि ९० पर्ने टमाटरको मूल्य प्रतिकेजी ५ देखि १५ रुपैयाँमा बिक्री गर्न बाध्य छन् । 

बजार क्षेत्रमा बसोबास गर्ने अधिकांश सर्वसाधरण उपभोक्ता गाउँ फर्किएपछि तरकारीको खपत कम हुने गरेको व्यापारीहरु बताउँछन् । लकडाउनले बजारका सबैजसो भाडामा बस्ने उपभोक्ताहरु गाउँ लागेको र स्थानीयबासी, व्यावसायी बाहेक अन्य उपभोक्ताहरु तरकारी किन्न आउन छाडेपछि विगतको तुलनामा लकडाउनले ६० प्रतिशत भन्दा बढी दैनिक उपभोगीय वस्तुको व्यापार पनि खस्किएको छ ।

शनिबार र बुधबार गरी हप्ताको दुईपटक लाग्ने हाटमा सातदेखि नौ मेट्रिक टनसम्म तरकारी खपत हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । तर, उत्पादन धेरै भए पनि लकडाउनका कारण माग थोरै भएपछि किसान समस्यामा परेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादवले बताउनुभयो । 

लकडाउनमा स्थानीय कृषि उपजको अवस्थाबारे संघीय, प्रदेश सरकार र स्थानीय सरकार बेखबर बनेको यादवको भनाई छ । ती निकायहरुले लकडाउनको समस्या झेलिरहेका किसानको अवस्थाबारे जानकार पनि हुन नसकेको उहाँको भनाई छ । 


प्रतिक्रिया