टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपाललाई

आश्विन ३१, २०८२ | काठमाडौं

नेपालले अपराजित रहेर टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।

आज भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित ग¥यो । नेपालले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको सामोआले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सो क्रममा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।

त्यसअघि नेपाली टोलीले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए ।

दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन जोडे । सुपर सिक्सका ५ वटै म्याच जितेर पहिलो स्थानमा रहँदै नेपाल विश्वकपका लागि छनोट भएको छ । नेपालसँगै यूएई र ओमान आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रुपमा हुने टी–२० विश्वकपका लागि छनोट भएका छन् ।


प्रतिक्रिया