घान्द्रुकका सबै होटल असोजपछि मात्र खुल्ने

कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुक । तस्बिरः कान्तिपुर । 

भाद्र ३१, २०७७ | पोखरा

सरकारले बिहीबारदेखि लामो दूरीका सवारी साधन, आन्तरिक हवाइ उडान, होटल, रेष्टुरेन्ट सञ्चालनको निर्णय गरेपनि कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुुकका होटल भने असोजपछि मात्रै खुल्ने भएका छन् । 

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै व्यवसायीले घान्द्रुकका सबै होटल असोज महिनाभरी बन्द गर्ने निर्णय गरेका छन् । कोरोनाको महामारी नसकिएको, तत्काल होटल र होमस्टे सञ्चालन गर्दा गाउँमा संक्रमण फैलिन सक्ने सम्भावना देखिएको भन्दै एक महिना पूर्णरुपमा बन्दको निर्णय गरिएको हो ।

पर्यटन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले पैसा भन्दा पनि ज्यान ठूलो भएको भन्दै तत्काल होटल सञ्चालनमा नल्याउने निर्णय भएको बताउनुभयो । ‘अहिलेसम्म गाउँ कोरोना संक्रमण मुक्त छ । होटल सञ्चालन हुनसाथ संक्रमण भित्रिन सक्छ भन्ने ठहर भयो’ उहाँले भन्नुभयो ‘पहिलो कुरा स्वास्थ्य रह्यो । बाँचेदेखि भोलि कमाउला भन्ने भयो । सबैको एकमत भएपछि यो एकमहिना बन्द गर्ने निर्णय गरियो ।’

स्याउली बजारदेखि मुख्य गाउँ घान्द्रुकसम्मका ५ दर्जन होटल र केही होमस्टे सञ्चालनमा नल्याउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । गाउँमा बुढापाका पनि धेरै रहेकाले उनीहरुको स्वास्थ्यमा पनि ध्यान दिइएको समितिको भनाइ छ ।

होटल सञ्चालन हुनसाथ देशविदेशका पाहुना आउने निश्चित छ । यसले कोरोना भित्रिने प्रवल सम्भावना भएकाले तत्काल होटल सञ्चालनमा नल्याउने निर्णय गरिएको व्यवसायी तथा समितिका उपाध्यक्ष ध्रुव गुरुङले बताउनुभयो । 

‘कोरोना रोक्ने एक मात्र उद्देश्यले यस्तो निर्णय गरिएको हो’ उहाँले भन्नुभयो, ‘पैसा भन्दा ज्यान ठूलो मानियो ।’ अर्का व्यवसायी कृष्ण गुरुङले सबै व्यवसायीको एकमतले नै यस्तो निर्णयमा पुगिएको बताउनुभयो । 


प्रतिक्रिया