धरानमा ‘ई–पेमेन्ट' प्रणालीबाट कर तथा राजश्व संकलन सुरु

आश्विन २, २०७७ | धरान

धरान उपमहानगरपालिकाले सेवाग्राहीलाई घरैमा बसेर अनलाइन प्रणालीबाटै विभिन्न कर तथा राजश्व तिर्न सकिने प्रविधि ई–पेमेन्ट सेवा सुरु गरेको छ । यो प्रणाली मुलुकमै पहिलो पटक धरानमा सुरु भएको हो ।

कर तिर्नकालागि लामो लाइन लाग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको र कोरोना संक्रमणको कारण उपस्थित हुन नचाहनेका लागि इपेमेन्ट प्रणालीले सहज बनाएको उपमहानगरपालिकाका प्रमुख तिलक राईले बतायनुभयो । उहाँले भन्नुभयो, ‘यो एकप्रकारले अनलाइन भूक्तानी हो । धरानका सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने शिलशिलामा इपेमेन्ट प्रविधि लागु गरेका हौं ।’

विभिन्न खाले कर, राजश्व संकलनबाट उपमहानगरले आन्तरिक आयश्रोतको रुपमा बार्षिक २५ करोडमात्र आम्दानी गर्दै आएको छ । तर यो अनलाइन प्रणालीले उपमहानगरको आन्तरिक आयश्रोत बढ्ने बताइएको छ ।

प्राय सवैको हातमा मोबाइल हुने भएकाले राजश्व परामर्श समितिले अनललाइन प्रविधि अपनाएर राजश्व संकलन गर्ने सुझाव दिएअनुसार उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको हो । धरानका कुनै पनि सेवाग्राहीले अनलाइनमार्फत कर तथा राजश्व तिर्नकालागि अव आफ्नो वडा कार्यालयमा नाम, ठेगाना, मोवाइल नम्बरसहित इमेल ठेगाना टिपाउनु पर्नेछ । 

सेवाग्राहीले युजर नेम र पासवर्ड प्राप्त गर्ने छन् । प्रमुख राईले भन्नुभयो, ‘त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो वैंक खाताबाट कनेक्ट आइपिएसको माध्यमबाट वा ई सेवा वालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सक्ने छन् ।’

उपप्रमुख मन्जु भण्डारीले धरानबासीहरु अधिकांश काठमाडौं र विदेशमा भएकोले यसअघि विभिन्न कर बार्षिकरुपमा सतप्रतिशत भुक्तानी गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई लाग्छ अव कसैले पनि जरिवाना तिर्नु पर्दैन । हातमा भएको मोबाइलमार्फत जहा बसिएको छ त्यहीबाट जुनसुकै बेला तिर्न सकिने छ ।’

उपप्रमुख भण्डारीले अनलाइन कर प्रणालीलाई थप सहज बनाउन सेवाग्राहीमाझ साक्षात्कार अभियान संचालन गरेर करदतालाई सचेत गराउन वडाहरुमा इपेमेन्ट बारे राजश्व सुधार र कर शिक्षा सुरुवात गर्ने बताउनुभयो ।  


प्रतिक्रिया