नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा

आश्विन ६, २०७७ | इलाम

नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयज’ नामको लोगो कार्यान्वयनमा आएको छ । दुई वर्षअघि नै नेपाल सरकारले मान्यता दिएको लोगो व्यवहारिक रुपमा मंगलबारदेखि उद्यमीलाई प्रदान गरिएको हो । 

इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित एक कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले १२ उद्यमीलाई ट्रेडमार्कको प्रमाण पत्र हस्तान्तरण गर्नुभयो । मन्त्री भुसालले चियाको आफनो लोगो (टेड्रमार्क) कार्यान्वयमा आएसँगै समग्र कृषिजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारीकरणको ढोका खुलेको बताउनुभयो । 

राष्ट्रिय चिया तथा कफि विकास बोर्ड मार्फत लोगोको व्यवहारिक कार्यान्वयनका लागि आयोजित कार्यक्रममा भुषालले कृषि क्षेत्रको विकासमा अझै पनि ठोस काम हुन नसकेको स्वीकार्नुभयो । सरकारले उत्पादकलाई फाइदा पुग्ने गरी काम गरिरहेको मन्त्री भुसालले दाबी गर्नुभयो ।

चिया रोपणको १ सय ५७ वर्षपछि नेपाली चियाको पहिचान खुल्ने गरी बनाइएको लोगोले चियाको बजार विस्तारमा सघाउने व्यवसायीहरुले बताएका छन् । निवेदन परेका ४२ वटा मध्ये बोर्डले मापदण्ड पूरा भएका १२ वटा उद्योग र सहकारीलाई लोगो हस्तान्तरण गरिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।  


प्रतिक्रिया