सुन्तला उत्पादन २५ प्रतिशतले घटेपनि अर्ब बराबरको कारोबार

पूर्वी पहाडका किसानहरुले उत्पादन गरेका सुन्तला धरानको कृषि उपज बजारमा थोक बिक्रीका लागि झार्दै । तस्बिर : प्रदीप मेन्याङ्बो/रेडियो कान्तिपुर ।  

मंसिर ८, २०७७ | सुनसरी

कोशी करिडोरका पूर्वी पहाडी क्षेत्रमा यो वर्ष करीब एक अर्ब रुपैयाँ बराबरको ९ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । 

धरानस्थित कृषि उपज बजारमा गत कात्तिकदेखि सुरु भएको सुन्तलाको कारोबार हेर्दा गत आर्थिक वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले उत्पादन कम भएको देखिएपनि मूल्य वृद्धि भएकाले गत वर्ष भन्दा करीब १९ करोड रुपैयाँ बढीको कारोबार हुने अनुमान गरिएको छ । 

पूर्वका सात पहाडी जिल्लामा उत्पादित सुन्तला धरानको कृषि उपज बजारमा संकलन भएर थोक बिक्रेता मार्फत बिक्री वितरण हुँदा ८ हजार १ सय २० मेट्रिक टन अर्थात ८१ करोड रुपैयाँ (थोक मूल्यमा प्रतिकिलो सय रुपैयाँको दरले गणना गर्दा) को कारोबार भएको थियो । 

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भन्नुभयो, ‘स्थानीय उत्पादक कृषक र व्यापारीहरुबाट प्राप्त जानकारी अनुसार गत वर्ष बढी उत्पादन भएको थियो । तर, यो वर्ष अत्यधिक मात्रामा असिना पानी बढी परेको र पुरानो बोट मर्न थालेकाले २५ प्रतिशत कम उत्पादन हुने अनुमान गरिएको छ ।’

धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ्ग, संखुवासभा, पाँचथर र ताप्लेजुङ्गमा यो वर्ष २५ प्रतिशत कम उत्पादन भएपनि सुन्तलाका कृषकहरुको संख्या बढेकाले गत वर्षको तुलनामा मूल्यमा बढीको कारोबार हुने देखिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार मंसिर पहिलो साता सम्ममा धरानको कृषि बजारमा ३ सय ५० मेट्रिक टन अर्थात करीब ४ करोड रुपैयाँ बराबरको मात्र सुन्तलाको कारोबार भएको छ । जबकी गत वर्ष यही अवधिमा १ हजार १ सय ३१ मेट्रिक टन (१२ करोड रुपैयाँ) को कारोबार भएको थियो । 

उहाँका अनुसार यो वर्षको चिसो बढी भएकाले सुन्तला पाक्न ढिलाई हुँदा गत वर्षको तुलनामा कारोबार पनि कम भएको हो । धरानबाट पूर्वी शहरहरु, इटहरी, विराटनगर, दमक, बिर्तामोड, राजविराज, लाहान, जनकपुरसम्मका पुग्ने सुन्तलाको कारोबार सबै भन्दा बढी पुस र माघमा हुने गरेको छ । चैतको पहिलो सातासम्म कारोबार हुने सुन्तलाको माग भारत र बंगलादेशमा अधिक रहेको बजार व्यवस्थापक भट्टराईले बताउनुभयो ।

धनकुटाको बोधेका सुन्तला कृषक जयबहादुर थापाले नेपाली सुन्तलाको ग्रेडिङ्ग, प्याकिङ्ग, लेबलिङ्ग, क्वारेन्टाईन नभएकाले निर्यात गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खपत त स्वदेशमै पनि हुन्छ । तर, भारत र बंगलादेशमा पनि निर्यात गर्न सके करीब डेढ अर्ब रुपैयाँको कारोबार गर्न सकिन्छ । जति धेरै मूल्यको कारोबार भयो उति नै नेपालका स्थानीय सुन्तला कृषक र व्यापारीले मूल्य पाउने हुन् ।’

उहाँका अनुसार सुन्तला निर्यातका लागि कसैले पनि चासो नदिएकाले कृषकहरुले भने जस्तो मूल्य पाउन सकेका छैनन् । आफूले उत्पादन गरेको सुन्तला वर्षेनी धरानको कृषि बजारमा थोक व्यापारी मार्फत बिक्री गर्दै आएका भोजपुरका मणी राईले परम्परागत रुपमै सुन्तला खेती गरेर किसानहरुले आय आर्जन गर्दै आएको बताए । 

उनले नेपाली उत्पादनलाई ब्रान्डिङ गर्न कसैले चासो नै नदिएको बताए । कृषि उपज बजारका सुन्तलाका मुख्य थोक व्यापारी ज्ञानबहादुर बस्नेतले कोशी करिडोरमा पर्ने धनकुटाको मौनाबूधूक, बोधे, खोकू छिन्ताङमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको बताए । 

उनले भने, ‘पूर्वी पहाडी क्षेत्रमा यातायात र ढुवानीको सेवा सुविधा पुगेकाले व्यावसायीक रुपमा सुन्तला खेती गर्ने किसानहरु वर्षेनी बढीरहेका छन् । नेपालको सुन्तला भारतीय किसानले उत्पादन गरेको भन्दा स्वादिलो र पातलो बोक्रा भएकैले भारत र बंगलादेशका उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । तर निर्यातमा समस्या भएकैले ती मुलुकमा पठाउन सकिरहेका छैनौं ।’


प्रतिक्रिया