अमिलाजात फलफूलको पीसीआर गरिने

पूर्वी पहाडका किसानहरुले उत्पादन गरेका सुन्तला धरानको कृषि उपज बजारमा थोक बिक्रीका लागि झार्दै । तस्बिर : प्रदीप मेन्याङ्बो/रेडियो कान्तिपुर ।  

पुस २, २०७७ | धनकुटा

धनकुटामा रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले अमिलाजात फलफूलमा लाग्ने ग्रिनिङ रोग नियन्त्रणका लागि रोगी बिरुवाको पीसीआर परीक्षण गर्ने भएको छ । 

सिट्रससिला नामको कीराले सार्ने टिल्याफ भाइरसको संक्रमणबाट अमिलाजात फलफूल खेती मासिंदै गएपछि कार्यक्रमले भाइरसको प्रकार, क्षमता, संक्रमणको तह र अवस्था लगायत यकिन गर्न पीसीआर परीक्षण गर्न लागेको हो । यसका लागि कार्यक्रमले बेल्जियमबाट पीसीआर मेसिन खरिद गरेको छ । 

सो मेसिनबाट एक पटकमा ९५ वटा नमूना परीक्षण गर्न सकिने छ । केही महिनाभित्रै काम थाल्ने गरी दुई जना कृषि वैज्ञानिक र ल्याब ब्यवस्थापनको काम भईरहेको कार्यक्रमका प्रमुख उमेश आचार्यले जानकारी दिनुभयो । 

सुन्तला र कागतीको परीक्षणलाई प्राथमिकतामा राखिएको छ । ग्रिनिङ परीक्षणका लागि रोगी बिरुवाको पालुवाबाट नमूना लिइने छ । यसका लागि आवश्यक रसायन भारत र उपचारका लागि भ्याक्सिन अमेरिकाबाट आयातका लागि गृहकार्य भईरहेको कार्यक्रमका प्रमुख आचार्यले जानकारी दिनुभयो । 

सिट्रस ग्रिनिङ रोगले अमिलाजात फलफूलको ब्यवसायिक उत्पादन लिइरहेका मध्य पहाडी क्षेत्रका ४४ जिल्लाको ६० प्रतिशत बगैंचा प्रभावित भएको छ । 


प्रतिक्रिया