विषादी परीक्षणका लागि उपकरण जडानमा अझै आलटाल

कृषि बजारले थोक व्यापारीका लागि निर्माण गरेको भवनमाथि तीन वर्षअघि तला थपेर निर्माण गरेको उपकरणबिहीन विषादी मापन प्रयोगशाला भवन । तस्बिर : प्रदीप मेन्याङ्बो/ रेडियो कान्तिपुर ।  

पुस २६, २०७७ | सुनसरी

सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा विषादी अवशेष मापन प्रयोगशाला स्थापनाका लागि निर्माण गरिएको भवन अलपत्र परेको छ । निर्माण सम्पन्न भएको ३ वर्ष बितिसक्दा पनि विषादी मापन गर्ने उपकरण जडान नहुँदा भवनका कोठाहरुमा माकुराको जालो लाग्न थालेका छन् । 

वार्षिक ५ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कृषिजन्य उत्पादनको कारोबार हुने कृषि उपज बजारमा प्रदेश १ सरकारले विषादी मापन उपकरण उपलब्ध गराउने भनेपछि हौसिएर बजार व्यवस्थापन समितिले करीब १६ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको थियो । तर, हालसम्म उपकरण जडान हुन नसकेको बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कट्टवालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पोहोरपरार नै विषादी मापन गर्ने उपकरण दिने भनेका थिए । धरानमा दिने भनेको उपकरण विराटनगरमै राखेका छन् । गतवर्ष पनि उपकरण किन्ने बजेट छुट्याएको छ भने तर उपकरण दिएनन् । यता भवन रित्तै भएर माकुराले जालो लगाइ सक्यो ।’

बजार व्यवस्थापन समितिका अध्यक्ष कट्टवालले बजार समितिको तर्फबाट पटकपटक अनुरोध गर्दा प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चासो नदेखाएको बताउनुभयो । ‘धरानका लागि विषादी मापन उपकरण दिन्छौं’ भन्न नछाडेको तर उपलब्ध गराउन आनाकानी गर्न पनि नछाडेको उहाँको भनाई थियो । 

उहाँका अनुसार बजारको लक्ष्य अनुसार उपभोक्ता, कृषक र व्यापारीको हितमा विषादी मापन प्रयोगशालाको व्यवस्था नगरिंदा पूर्वी पहाडी जिल्ला, तराई र भारतबाट आयात हुने फलफूल तथा तरकारीमा के कति विषादी प्रयोग भए/नभएको बारे ल्याब टेस्ट हुन सकेको छैन । 

तीन वर्षअघि कृषि बजारले थोक र खुद्रा व्यापारीहरुका लागि निर्माण गरेको भवनमाथि अर्को तला थपेर विषादी परीक्षण प्रयोगशला निर्माण गर्न संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको १० लाख रुपैयाँ र कृषि उपज बजार व्यबस्थापन समितिको ६ लाख गरी १६ लाख रुपैयाँ लागतमा निर्माण गरेको भवन अलपत्र अवस्थामा छ । 

कृषकलाई स्वस्थ र पौष्टिक कृषि उपज उत्पादनमा प्रेरित गर्दै उपभोक्तालाई विषादी रहित फलफूल तथा तरकारी उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला स्थापना गर्ने भनिएपनि प्रदेश सरकारको बेवास्ताका कारण ढिलाई भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । 

धरानको कृषि बजार कृषि मन्त्रालयको स्वामित्वमा रहेको १ बिघा १३ कट्ठा १२ धुर क्षेत्रफलमा सञ्चालित थोक बजार हो । बजार व्यवस्थापक भट्टराईले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पर्याप्त बजेट विनियोजन गरेपनि विषादी मापन उपकरण खरिद गर्न नसक्दा बजेट नै फ्रिज भएको बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘विराटनगरलाई जति आवश्यक छ त्यो भन्दा बढी धरानको कृषि बजारलाई विषादी मापन उपकरणको जरुरी छ । पछिल्लो समय कृषिजन्य वस्तुमा विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको अवस्थामा प्रयोगशाला स्थापना गरेर परीक्षण गर्ने र व्यावसायिक कृषकहरुलाई सचेत गराउनु मुख्य उद्देश्य हो । तर, उपकरण र प्राविधिक नै उपलव्ध नभएकाले भवन रित्तै भएको छ ।’ 

पूर्वी पहाडका अधिकांश कृषिजन्य उत्पादन धरानको कृषि बजारको थोक विक्रेता मार्फत अरु व्यापारीले अन्यत्र बजार पुर्‍याउने गरेका छन् । धरानको कृषि बजारमै विषादी मापन गर्न सकियो भने नेपालमा प्रतिबन्धित विषादी प्रयोग भएका र सरकारले स्वीकृत गरेका पनि अत्यधिक प्रयोग भएको पाइएमा ल्याब टेस्ट गरेर मात्र अन्यत्र लैजान प्रयोगशाला राख्न खोजिएको हो । 

बजार व्यवस्थापक भट्टराईले भन्नुभयो, ‘भारतीय कृषिजन्य उत्पादनमा कार्वामेट र अर्गानोफस्फेट बढी देखिएको छ । आँपको सिजनमा कार्बाइट प्रयोग गर्ने, केरामा पनि अखाद्य रासायनिक पदार्थ प्रयोग गरेर पकाउने, टमाटर, बन्दाकोभी, हरिया सागसब्जीमा खान अयोग्य र तोकेको मापदण्ड भन्दा बढी त्यस्ता विषादी प्रयोग भएको थाहा पाउन र त्यस्ता कृषि जन्य उत्पादनको बिक्री वितरण रोक्न प्रयोगशालाको जरुरी छ ।’

प्रयोगशाला स्थापनाका लागि भवन तयार भएपछि मुख्यमन्त्री शेरधन राईले कृषि बजारको अवलोकन निरीक्षण गर्दै छिट्टै विषादी परीक्षणका लागि उपकरण उपलब्ध गराउने आश्वासन दिनु भएको थियो । तर, हालसम्म पनि कुनै पहल भएको छैन । बजार व्यवस्थापक भट्टराईले भन्नुभयो, ‘प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले दुई वर्षअघि नै प्रयोगशालाको भवनको फोटो खिचेर लगेका थिए । तर, अहिले सम्म उपकरण आएन ।’

उपकरण जडान गर्न ढिलाई बारे मन्त्रालयका वरिष्ठ योजना अधिकृत पशुपति पोखरेलले विषादी मापन उपकरण विराटनगरमै भएकाले आवश्यक परेको खण्डमा ल्याएर ल्याब टेस्ट गर्न सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘धरानमा उपकरण राख्ने भनेको हो । बजेट पनि विनियोजना गरेको हो तर, उहाँहरुमा ‘इन्ट्रेस्ट’ नदेखिएकाले बजेट नै फ्रिज भयो । दक्ष प्राविधिक राख्ने कुरा चाँहि मौखिक मात्र हो । उकरण त्यहीँ राख्नुपर्छ भन्ने छैन ।’ उपकरण जडान गरेपछि दक्ष जनशक्ति चाहिने भएकाले धरानमा तत्काल विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया