रेमिटयान्स आप्रवाह ११ प्रतिशतले बढ्यो

पुस २९, २०७७ | काठमाडौं

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरुको संख्या घटेपनि रेमिटयान्स आप्रवाहमा भने सुधार देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि मंसिर महिनासम्मको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनमा अनुसार ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको रेमिटयान्स नेपाल भित्रिएको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकको तथ्याङक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११ दशमलव ८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

 यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ५९ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव १ प्रतिशतले घटेको थियो ।

विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि

२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भएको छ । २०७७ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चिति १४७४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रुपैयाँ  रहेकोमा मंसिर मसान्तमा ५.९ प्रतिशतले वृद्धि भई १२९८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) साग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १७५ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तमा ०.१ प्रतिशतले कमी आई १७५ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया