अदुवामा १ अर्ब १८ करोड रुपैयाँको घाटा
फाल्गुन २०, २०७७ | काठमाडौं
नेपालमा उत्पादन भएको अदुवाले बजार नपाएपछि अदुवा कृषकले गत बर्षको तुलनामा १ अर्ब १८ करोड रुपैयाँको घाटा व्यहोर्नु परेको छ । अदुवाको मुल्य घटेर निर्यात ठप्प जस्तै भएपछि यस वर्ष १४ करोड रुपैयाँको मात्र कारोवार भएको छ । गत वर्षको यही अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ बराबरको अदुवा कारोबार भएको धरानस्थित कृषिउपज बजारका व्यबस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
आर्थिक वर्ष ०७६/०७७ मा धरानस्थित कृषी उपज बजारमा संकलित भएर भारत निर्यात हुने अदुवाको मुल्य प्रतिकिलो १ सय २० रूपैयाँ थियो । तर, यो सिजनमा भारतीय व्यापारीहरुले करिव २ सय ५० प्रतिशत मुल्य घटाएर २५ रुपैयाँ किलो मात्र कायम गरेपछि कृषकहरूले उत्पादन गरेको अदुवा भारतीय बजारमा निर्यात हुन नसकेको व्यवस्थापक भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा थोक मूल्य ८० रूपैयाँ हुँदा ८ हजार ५ सय ४२ मेट्रिक टन भारतीय बजारमा अदुवा निर्यात भएको थियो । आर्थिक बर्ष ०७६/०७७ मूल्य बढेर प्रतिकेजी १ सय २० पुग्दा कारोबार बढेर १० हजार ५ सय ८९ मेट्रिक टन अदुवा निर्यातको काराबार भएको थियो । सोही आधारमा आर्थिक बर्ष ०७७/०७८ मा ११ हजार मेट्रिक टन अदुवा धरानको कृषि उपज बजारबाट भारतीय व्यापारीमार्फत निर्यात हुने अनुमान गरिएको थियो । तर अचानक मुल्य घटेकाले यसपाली मुस्किलले ६ हजार ५ सय मेट्रिक टनको कारोवार हुने अनुमान गरिएको भट्टराईले बताउनुभयो ।