चाँगुनारायणका ३ सय स्वरोजगार युवालाई निर्ब्याजी ऋण

चैत्र १४, २०७७ | भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत स्वरोजगार युवालाई ३ लाख रुपैयाँ निर्ब्याजी ऋणको व्यवस्था गरेको छ । नगरका युवालाई उद्यमशीलता वृद्धि गरी स्वरोजगारतर्फ उन्मुख गराउन नगरपालिकाले निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यक्रम सुरु गरेको हो । 

नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरभित्रका ३ सय युवालाई निर्ब्याजी ३ लाख रुपैयाँसम्म कर्जा दिने सम्झौता भएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । स्वरोजगारका लागि राष्ट्रिय युवा परिषद्, नगरपालिका र बैंकले सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि एक साता उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम समेत दिईसकेको छ । 

नगरपालिकाले नगरभित्रबाट आवेदन परेका १ हजार २८ युवाबाट ३ सय जना छनोट गरी तालिममा सहभागिता गराएको थियो । तालिम लिएका ३ सय जना युवालाई नेपाल बैंकले व्यवसायिक प्रस्तावका आधारमा र नगरपालिकाको जमानीमा ३ लाख रुपैयाँका दरले कर्जा दिने नगरपालिकाले जनाएको छ । 

कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिनुभयो । नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलता सम्बन्धी आवश्यक कागजात सहित प्रक्रिया पुर्‍याएर बैंकले ऋण उपलब्ध गराउने बताउनुभयो । चाँगुनारायण नगरले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका–२०७७’ तयार गरेर कार्यक्रम अघि बढाएको हो । 

कृषि, उद्योग र पर्यटन व्यवसायलाई आधार बनाई विदेशबाट फर्किएका तथा नगरमै रहेका बेरोजगार युवालाई निर्वाहमुखी परम्परागत कृषिलाई औद्योगिक तथा व्यावसायिक कृषिमा रुपान्तरण गर्ने, पर्यटन व्यवसायमा लगानी गरी भरपर्दो र विश्वसनीय पर्यटन व्यवसायको प्रवर्धन गर्ने र लघु, घरेलु, साना तथा मझौला उद्योगको थप विकास एवं प्रवर्धन गर्न तथा नवप्रवर्तनका आधारमा सञ्चालन हुने अन्य प्रतिफलमुखी बनाइने निर्देशिकामा उल्लेख छ ।

नगरपालिकामा दक्ष जनशक्ति तयार गर्नु, सीप र दक्षता विकास गरी नगरबासीको आय आर्जन वृद्धिमा टेवा पुर्‍याई जीवनस्तरमा सुधार ल्याउन मेयर उद्यमशील कार्यक्रम ल्याएको जनाएको छ । 

स्वदेशमै रोजगारीका अवसरको सिर्जना गरी युवाको सीप र कार्यक्षमता बढाई आत्मनिर्भर बन्न अभिप्रेरित गर्ने, नगरपालिका क्षेत्रमा आर्थिक तथा सामाजिक उत्थानको लागि सञ्चालन हुने स्वरोजगारमूलक कृषि, पर्यटन व्यवसाय तथा लघु, घरेलु, साना तथा मझौला खालका उद्यम विकास तथा प्रवर्धनका लागि नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय सरकार तथा सम्बन्धित मन्त्रालय, विभाग, दातृ निकाय, राष्ट्रियतथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग उद्यमशीलता विकास, औद्योगिक पूर्वाधार विकास एवं बजार पहँुच विस्तारका लागि आवश्यक समन्वय र सहकार्य गर्ने एवं उद्यम तथा व्यवसाय दिगो ढंगले सञ्चालन गर्न सहयोग पुर्‍याउने निर्देशिकामा उल्लेख छ । 

नगरपालिका क्षेत्रमा उत्पादन एवं उत्पाकत्व वृद्धि गरी सेवा तथा व्यवसायमा जोड दिई समाजवाद उन्मुन्ख राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने नगरपालिकाले जनाएको छ । त्यसैगरी, चाँगुनारायण नगरले उपप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रमको समेत थालनी गरेको छ । चालू आर्थिक वर्षभित्र नगरक्षेत्र भित्रका ५ सय ७० महिलालाई नि:शुल्क उद्यमशीलता तालिम दिइने नगरउप–प्रमुख बिना बास्तोलाले बताउनुभयो । 

ड्राईभिङ, ब्यूटिपार्लर, कम्प्यूटर, सिलाई कटाई, बेद बाँस, मन्टेश्वरी, बेकरी, कफि मेकिङ, मोबाइल/ल्यापटप बनाइने तालिम दिईने उहाँले बताउनुभयो । उपप्रमुख महिला उद्यमशीलता कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि ५० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । नगरक्षेत्रभित्रका महिलालाई स्वरोगार र व्यवसायिक बन्न प्रेरित गर्न कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया