नेप्से अहिले सम्मकै उच्च बिन्दुमा, ९ अर्ब बढीको कारोबार

चैत्र २२, २०७७ | काठमाडौं

सेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा नयाँ कीर्तिमान कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज २५ दशमलव ७१ अंक उकालो लागेर २ हजार ६ सय ५७ दशमलव ६१ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । 

यसअघि गत फागुन ९ गते नेप्से २ हजार ६ सय ४० दशमलव ३५ बिन्दुमा पुगेर बन्द भएको थियो । नेप्सेसँगै कारोबार रकम पनि बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएकाले लगानीकर्ता उत्साहित भएका छन् । 

नेप्सेमा आज कुल २ सय १२ कम्पनीको ८९ हजार ८ सय ६० कारोबारबाट एक करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता सेयर किनबेच भए । जसअन्र्तगत ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा आज कारोबारमा आएका १३ मध्ये ५ वटा उपसमूहको सूचक ओरालो लागेको छ । सबैभन्दा बढी व्यापार उपसमूहको सूचक ४ दशमलव ३९ प्रतिशतले घटेको छ । वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको सूचक भने समान ३ प्रतिशत भन्दा बढीले बढेको छ । नेप्सेमा आज कारोबारमा आएका ७ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबारको पहिलो दिन आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी ५७ करोड ५६ लाख ९९ हजार र माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको २८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 


प्रतिक्रिया