मिस्त्रीखोला जलविद्युत आयोजनाले उत्पादन थाल्यो

जेष्ठ ६, २०७८ | म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्त्री खोलामा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले उत्पादन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिकको निगरानीमा मिस्त्रीखोला जलविद्युत आयोजनाले आजबाट परीक्षण उत्पादन थालेको हो । 

आयोजनाबाट उत्पादित विद्युत अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी करिडोरको २२० केभीए प्रशासरण लाईनको सब–स्टेसनमा जोडिएको छ । सो विद्युत केन्द्रीय ग्रीडमा जोड्न आयोजनाले नारच्याङवेशी–दाना ४ किलोमिटर लामो २३२ केभीए डबल सर्किट ट्रान्समिसन लाईन निर्माण गरेको छ । 

४२ मेगावाट क्षमताको मिस्त्रीखोला आयोजनाबाट विद्युत उत्पादन सुरु भएसँगै साविकको धौलागिरी अञ्चलका म्याग्दी, पर्वत, मुस्ताङ र बाग्लुङका वस्तीमा पहिलो पटक उज्यालो पुर्‍याएको क्षेत्रकै पहिलो २ मेगावाटको तातोपानी सानो जलविद्युत आयोजनाको इतिहास अन्त्य भएको छ । 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको मिस्त्री खोलामा प्राधिकरणले मुहान भन्दामाथि ड्याम बनाई खोलाको सबै पानी टनेलमा लगेपछि २०४६ मा निर्मित विद्युत प्राधिकरण स्वामित्वको तातोपानी साना जलविद्युत आयोजनाको विरासत अन्त्य भएको हो । 

मिस्त्री खोलाले जलविद्युत आयोजनाले हाल जडित क्षमता बराबरको मूल्य तिर्ने गरी घरापस्थित सो आयोजना खरिद गर्ने पूर्व सर्त रहेको छ । तातोपानी साना जलविद्युत आयोजना हिउँदमा बन्द रहने र बर्खा सञ्चालन गर्ने गरी हाल उत्पादन बन्द गरिएको मिस्त्री खोला जलविद्युत आयोजनाले जनाएको छ । 


प्रतिक्रिया