‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणका लागि ग्लोबल टेण्डर आह्वान

जेष्ठ ९, २०७८ | बुटवल

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु भएको छ । संघीय सरकार अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेपछि सुरुङ मार्ग बन्ने निश्चित भएको हो ।

सडक विभागका उपमहानिर्देशक विजय जैसीले सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिएको र त्यसका आधारमा प्रकृया अगाडि बढाएको बताउनुभयो । ५ वर्षको समय तोकेर ग्लोबल टेण्डर आह्वान भएको छ । 

४५ दिन अर्थात आगामी असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीले बोलपत्र बुझाउनुपर्नेछ । सडक विभागका अनुसार सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट सुरु हुनेछ । 

चिडिया खोला खोंचबाट सुरु हुने सो सुरुङ दोभान नजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कने छ । यो करीब एक हजार एक सय मिटरको हुनेछ । अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभाका सदस्य विष्णु पौडेलले सुरुङ मार्ग निर्माणमा रकम अभाव हुन नदिने र समयमै सम्पन्न गर्न जोड दिने आश्वासन दिनुभयो ।

गत मंसिर १ गतेको अर्थ मन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको थियो । सिद्धबाबा क्षेत्र करीब ५ किलोमिटर लम्बाइको छ । 

यस सुरुङमार्ग आयोजना मध्ये एक हजार एक सय २६ मिटरको टनेल, सात सय ८० मिटरको डबल लेन रक सेड हुनेछ । माथिल्लो भागमा रक नेट र स्लोप पोटेक्सन लगायत समेत कामहरु हुने छन् । सिद्धबाबा तराईबाट पश्चिम–पहाड जोड्ने मुख्य मार्ग हो ।


प्रतिक्रिया