कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढ्दै

असार १२, २०७८ | रुपन्देही

कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम औपचारिक रुपमा अघि बढ्ने भएको छ । कालीगण्डकी नदीलाई डाईभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीको करिब १ लाख हेक्टर खेतीयोग्य जमिन सिंचाई गर्ने र १ सय २६ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले योजनाको निर्माण सुरु गरिएको हो । 

आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको बुटवलस्थित कार्यालयको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आज उद्घाटन गर्नुभयो ।

डाइभर्सनका लागि पाल्पा र स्याङजाको संगमस्थल कालीगण्डकीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरिने आयोजना प्रमुख सन्तोष कैनीले जानकारी दिनुभयो । जसमा २७ किलोमिटर लामो सुरुङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा पानी ल्याउने योजना छ । यसबाट विद्युत उत्पादनसँगै सिंचाईको व्यवस्था गर्ने लक्ष्य रहेको छ । दोभानमा निर्माण हुने ड्यामबाट १ सय २६ मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

करिब ९ मिटर चौडा सुरुङमार्गबाट ८१ दशमलव ६ क्युसेक पानी तिनाउ नदीमा मिसाइने छ । जसमा दोभानमा पहिलो र बुटवल नजिकै बेलवासमा दोस्रो विद्युत गृह निर्माण हुने गरी डिपिआर बन्दैछ । दोभानमा पहिलो विद्युत गृहबाट आधा पानी तिनाउमा मिसाइने छ । 

दोभानबाट तिनाउमा खसालिएको पानी १४ किलोमिटर लामो पूर्वी नहर हुदै तिनाउ पूर्वका क्षेत्रमा सिंचाइका लागि उपयोग गरिने छ । त्यसका लागि सोह्र छत्तीस मौजा लगायतका नहरहरुलाई समेत व्यवस्थित गर्ने योजना रहेको आयोजना प्रमुख कैनीले बताउनुभयो । यसबाट रुपन्देही र नवलपरासी पश्चिममा सिंचाइ सुबिधा पुग्नेछ । 

 उता बेलवासमा बन्ने दोस्रो विद्युत गृहबाट २७ किलोमिटर लामो नहर बनाएर तिनाउको पश्चिम क्षेत्र हुंदै कपिलवस्तुसम्म सिंचाई सुविधा पुर्याउने लक्ष्य छ । पश्चिममा कपिलवस्तुको वाणगंगा नदीसम्म यस्तो नहर बन्ने छ । 


प्रतिक्रिया