रेल संरचना हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा, मंसिरदेखि सञ्चालन हुने

आश्विन १६, २०७८ | जनकपुर

जनकपुरदेखि भारतको जयनगरसम्मको रेल संरचना हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । भारत सरकारको सहयोगमा निर्मित सो संरचनालाई दुबै देशका प्राविधिक तथा रेल्वेका उच्च अधिकारीहरुले जयनगरदेखि जनकपुरको कुर्थासम्म स्थलगत निरीक्षण गरेपछि गरी नेपाललाई हस्तान्तरण प्रक्रिया अगाडि बढाइने भएको छ । 

सो संरचना सञ्चालनमा नआउँदै भवनबाट पानी चुहिएको तथा केही स्थानमा निर्माण पूरा नभएकाले नेपालले स्वामित्व ग्रहण गर्न अस्वीकार गर्दै आएको थियो । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार सोमबार दुबै पक्षका प्राविधिक तथा पदाधिकारीहरु निर्मित संरचनाहरुको स्थलगत निरीक्षण गर्ने छन् । 

संरचनाहरुको स्थलगत निरीक्षणपछि आधिकारिक रुपमा हस्तान्तरण प्रकृया अघि बढाईने छ । यस महिनाको अन्त्यसम्म हस्तान्तरण प्रकृया पूरा हुने नेपाल रेल्वेका महाप्रबन्धक झाले बताउनुभयो । 

रेल संरचनाको स्वामित्व ग्रहण पश्चात आफूहरुको प्रमुख ध्येय रेल सञ्चालन हुने नेपाल रेल्वेका महाप्रबन्धक झाले बताउनुभयो । तर, रेल सञ्चालन गर्न आवश्यक कानून भने हालसम्म बन्न सकेको छैन । 

झाले भन्नुभयो, ‘कानूनको आभावमा रेल सञ्चालनमा बाधा हुँदैन । वर्तमान सरकार समयमै कानून निर्माण गर्छ ।’ रेल सञ्चालन तथा व्यवस्थापन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले बैशाख २२ गते ल्याएको अध्यादेश भदौ मसान्तदेखि निष्कृय थियो । 

भारतको कोंकन रेल्वे कार्पोरेशन र नेपाल रेल्वेबीच भएको सम्झौता अनुसारको पहिलो किस्ता बापतको साढे ७ करोड रुपैयाँ नेपाल सरकारले गत साता भुक्तान गरेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । 

यसबीच भारतको कोंकन रेल्वे कार्पोरेशनसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको दुई सेट रेलको वारेन्टी असोज ३ गतेदेखि सकिएको छ । दुबै सेट इन्जिन एक वर्षदेखि सीमावर्ती इनरुवा रेल्वे स्टेशनमा थन्किएको छ ।


प्रतिक्रिया