माग सकिएपछि बल्ल आईपुग्यो रासायनिक मल

वीरगञ्जस्थित कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय परिसरमा सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेशनबाट ट्रकबाट ढुवानी गरी ल्याइएको युरिया मल । तस्बिर : शंकर आचार्य/ रेडियो कान्तिपुर । 

आश्विन २६, २०७८ | पर्सा

कृषि सामग्री कम्पनीले आयात गरेको युरिया मल माग सक्किएपछि बल्ल नेपाल आईपुगेको छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीका अनुसार बिहीबारदेखि मल भित्रिने क्रम सुरु भएको हो । 

कम्पनीले ग्लोबल टेण्डर मार्फत आयात गरेको ३० हजार मेट्रिक टन युरिया मल मध्ये पहिलो रेल्वे र्‍याक सीमावर्ती भारतीय सहर रक्सौलमा आएपछि त्यहाँबाट ट्रकमा ढुवानी गरी वीरगञ्जस्थित कार्यालयको गोदाममा भण्डारण गर्न सुरु गरिएको छ । यस बाहेक थप एक रेल्वे र्‍याक रक्सौलमा र अर्को रेल्वे र्‍याक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आईपुगेको छ । 

प्रत्येक रेल्वे र्‍याकमा २ हजार ५ सय मेट्रिक टनको दरले हालसम्म ७ हजार ५ सय मेट्रिक टन युरिया मल आईपुगेको कम्पनीले जनाएको छ । ठेकेदार दुबईको स्विस सिंगापुर कम्पनीले चीनबाट खरिद गरी सो मल ल्याएको हो । 

कुल ३० हजार मेट्रिक टन युरिया मल मध्ये वीरगञ्ज प्रादेशिक कार्यालयले १२ हजार ५ मेट्रिक टन र बाँकी भैरहवा तथा विराटनगर प्रादेशिक कार्यालयले पाउने कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख केसीले बताउनुभयो । 

हालसम्म कतै पनि मल परिचालन नगरिएको कम्पनीले जनाएको छ । माग भएका जिल्लाहरुमा दशैंपछि मात्रै मल परिचालन गरिने कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख केसीले बताउनुभयो ।

कार्यालयले प्रदेश १, २ र ३ का गरी डेढ दर्जन बढी जिल्लामा मल परिचालन गर्दै आएको छ । यो कार्यालयमा रहेको युरिया मलको मौज्दात भदौ २५ गतेनै सकिएको थियो । अधिकांश किसानले त्यति बेला धान बालीमा युरिया मल छर्न पाएनन् । 

यसवर्ष सीमावर्ती भेगका किसानले विगतको जस्तो सहजै भारतबाट मल ल्याउन नपाएपछि मलको झनै हाहाकार भएको थियो । पर्सा जिल्लाकै सहकारीहरुले पनि मलको कालोबजारी गरी बाराका किसानलाई बिक्री गरेको गुनासो पनि किसानबाटै व्यापक रुपमा आएको थियो । कम्पनीले सहकारी मार्फत मल बिक्री गर्ने गर्छ । 

किसानहरुले भने अब धान बालीका लागि मलको आवश्यकता नरहेकाले कम्पनीको युरिया मल धान बालीको लागि कुनै उपयोग नरहेको बताउँछन् । किसान संघ पर्साका अध्यक्ष असर्फि साहले हाल युरिया मलको आवश्यकता नरहेको बताउनुभयो । 

‘कम्पनीको यही मल २ साता अघि मात्रै आएर किसानको हात परेको भए धेरै उपयोगी हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर अहिले धेरै किसानको धान बालीमा बाला फुटी सकेको छ, त्यस कारण अब युरिया मलको आवश्यता छैन, बालीमा समयमा मल छर्न नपाउँदा यस वर्ष धानको उत्पादन घट्ने पक्का छ ।’


प्रतिक्रिया