इलाम एयरपोर्टको धावनमार्ग उदघाटन

फाल्गुन १, २०७८ | इलाम

इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग आइतबार उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम बहादुर आलेले संयुक्त रुपमा विमानस्थलको धावनमार्ग उद्घाटन गर्नु भएको हो । 

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री खनालले विमानस्थल सञ्चालनमा आएपछि इलामको पर्यटकीय गतिविधि बढ्ने बताउनुभयो । ‘यो विमानस्थल चाँडै सम्पन्न हुनुपर्ने भएपनि यसअघिको सरकारका कारण ढिलो भएको हो,’ पूर्व प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै खनालले भने, ‘तत्कालीन प्रधानमन्त्रीले निरंकुश शासन शैली अपनाएका कारण समस्या भएको हो ।’

पर्यटन मन्त्री आलेले आफू कुर्सीमा रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने बताउनुभयो । क्यासिनो, पाँच तारे होटलले राज्यले पाउनु पर्ने रोयल्टी समेत नतिरेको अवस्थामा राज्यको सम्पत्ति फिर्ता ल्याउने गरी मन्त्रालयले काम अघि बढाएको मन्त्री आलेले दाबी गर्नुभयो । 

पशुपति क्षेत्र विकास कोषको जमिन अतिक्रमण भएको प्रशंग निकाल्दै फिर्ता ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । विमानस्थलको धावनमार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको विमानले गत माघ २६ गते परीक्षण उडान गरेका थियो । 

यसअघि २०७५ जेठमा पहिलो पटक निजी क्षेत्रको तारा एयरको विमानले कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा खनालले नै गरेका गिए । 

२०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । इलाम नगरपालिका–९ सुकिलुम्बामा एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल निर्माण गरिएको हो । 

यही फागुन ८ गतेदेखि सातामा एउटा उडान गर्ने गरी ३ महिनाका लागि हवाई सेवा सुरु गर्न तारा एयरसँग सम्झौता भईसकेको इलाम नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया