जोगबनी नाकाबाट प्रशोधित तेल र जुटको निकासी बढ्यो

फाल्गुन ११, २०७८ | विराटनगर

मोरङको जोगबनी नाकाबाट प्रशोधित तेल र जुटका तयारी वस्तुको निकासी बढेको छ । सो नाकाबाट विशेषगरी प्रशोधित तेल, जुटका तयारी वस्तु, पीपी ओवन, जीआई र चाउचाउ निकासी हुँदै आएको छ । 

निकासीका लागि उत्पतिको प्रमाण पत्र जारी गर्ने मोरङ व्यापार संघ र उद्योग संगठनको तथ्याङक अनुसार चालू आर्थिक वर्षको सात महिनामा जोगबनी नाकाबाट १२ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ बराबरको प्रशोधित तेल निकासी भएको छ । 

गतवर्ष सो नाकाबाट १६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको प्रशोधित तेल निकासी भएको थियो । अघिल्लो वर्ष ११ अर्ब ९ करोड रुपैयाँ बराबरको प्रशोधित तेल निकासी भएको तथ्याङक छ । 

भारतमा प्रशोधित तेलको माग बढेकाले गत वर्षदेखि निकासी पनि बढेको हो । उद्योगीका अनुसार अहिलेकै अवस्था कायम रहे असारसम्ममा करीब २० अर्ब रुपैयाँ बराबरको प्रशोधित तेल निकासी गर्ने लक्ष्य छ । 

भारतले पाम आयल आयातमा लगाएको प्रतिबन्द्ध फुकुवा गरेपछि प्रशोधित तेलको निकासी बढेको हो । नेपाली जुटका तयारी वस्तुमा भारतमा एन्टी डम्पिङ शूल्क पाँच वर्षदेखि लाग्दै आएपनि निकासी बढदो छ । गत साउनदेखि माघ सम्ममा जोगबनी नाकाबाट ५ अर्ब रुपैयाँ बराबरको जुटका तयारी वस्तु निकासी भएको छ ।

गत आर्थिक वर्षमा सो नाका हुँदै कुल ७ अर्ब १९ करोड रुपैयाँ बराबरको जुटका तयारी वस्तु निकासी भएको थियो । नेपाली जुटका तयारी वस्तुमा भारतले पाँच वर्षदेखि एकदेखि चार प्रतिशत सम्म एन्टि डम्पिङ शूल्क लगाउँदै आएपनि निकासी घटेको छैन । 

जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले चालू आर्थिक वर्षमा ८ अर्ब रुपैयाँ बराबरका जुटका तयारी वस्तु निकासी गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार भारतले एन्टी डम्पिङ शूल्क हटाउने हो भने निकासी अझै बढ्छ । 

नेपाली जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन् । सुनसरी मोरङ औधोगिक क्षेत्रका ११ जुट मिल मध्ये हाल ६ वटा सञ्चालनमा छन् । 

जोगबनी नाकाबाट निकासी हुने पीपी ओभन, नुडल्स र जीआईको निकासी भने घट्दो छ । गत वर्ष २ अर्ब ४४ करोड ४५ लाख रुपैयाँ बराबरको ओभन निकासी हुँदा यसवर्षको सात महिनामा ८३ करोड १५ लाख ७५ हजार रुपैयाँ बराबरको मात्र निकासी भएको तथ्याङक छ । 

त्यसैगरी १ अर्ब ३९ करोड ४३ लाख मूल्यको जीआई निकासी हुँदा चालू वर्षको सात महिनामा २२ करोड ५८ लाख ९७ हजार मूल्यको मात्र निकासी भएको छ । 

त्यस्तै, चालू वर्षको सात महिनामा २४ करोड ३२ लाख ३२ हजार रुपैयाँ बराबरको चाउचाउ निकासी भएको छ । गतवर्ष यो नाकाबाट एक अर्ब ४ करोड ४६ लाख मूल्यको चाउचाउ निकासी भएको थियो । 


प्रतिक्रिया